निर्वाचनमार्फत् राजनीतिक फोहर सफाइ गरिनुपर्छ : प्रधानमन्त्री
फागुन २८ । प्रधानमन्त्री पुष्पकमल दाहालले बाग्मती सफाइ महाअभियानले गति लिएजस्तै निर्वाचनमार्फत् राजनीतिक फोहर पनि सफाइ गरिनुपर्ने बताएका छन् ।
बाग्मती सफाइ महाअभियानको २००औं हप्ताका अवसरमा शनिबार शंखमूलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उनले सभ्यता र संस्कृति संरक्षण गर्न मानवसागर उर्लेको बताए ।
‘बाग्मती सफाइ महाअभियानको प्रेरणाले देशव्यापी सफाइ अभियान चलेको छ, सफाइका माध्यमबाट सभ्यता र संस्कृति संरक्षण गर्न सबै जुटेका छन्, यस अवसरमा सरकारले जारी गरेको सफाइ घोषणापत्र र शपथ कार्यान्वयन गर्न सबै सहयोग गरिनेछ’–प्रधानमन्त्री दाहालले भने ।
सबै गाउँपालिका र नगरपालिकामा सफाइ अभियान सन्चालन गरिने उनको भनाइ थियो ।
वातावरणीय सफाइ अभियानले राजनीतिक सफाइ अभियानलाई पनि बल पुग्नेमा प्रधानमन्त्री दाहालको जोड थियो ।
मुख्यसचिव डा. सोमलाल सुवेदीले १० बुँदे सफाइ घोषणापत्र जारी गर्दै विद्यालयलगायत सार्वजनिकस्थलमा साप्ताहिकरुपमा सफा गरिने बताए ।
बाग्मती सफाइ अभियन्ता डा. राजु अधिकारीले सफाइका लागि मन, संस्कार र प्रवृत्तिमा परिवर्तन गरिनुपर्ने बताए ।
गायिका आनी छोइङ डोल्माले सफाइमा सबै समुदायको सहभागिता हुनुपर्नेमा जोड दिए ।
वि.सं. २०७० जेठ ५ गते सुरु भएको बाग्मती सफाइ महाअभियान शनिबार २००औं हप्ता प्रवेश गरेका अवसरमा सुन्दरीजलदेखि चोभारसम्म पदयात्रासहित सफाइ गरिएको थियो ।
कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशी, हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलगायत सरकारका उच्चपदस्थ अधिकृत, समाजसेवी, पत्रकारको सहभागिता थियो । रासस
pm puspa kamal dahal