भिडियो कुरा: खस्रा मिठा

अरुको इशारमा केपी ओली यसरी उत्तेजित भएका हुन् (भिडियो अन्तर्वार्ता)

अरुको इशारमा केपी ओली यसरी उत्तेजित भएका हुन् (भिडियो अन्तर्वार्ता)

विगत डेढ दुई वर्षदेखि झडपको स्थिती आउँछ भनेर मैले अन्दाज लगाउँदै आएको छु । मूलतः यो संविधानकै प्रतिफल हो । यो स्थिती आउँछ भनेर जान्दाजान्दै एमालेजस्तो खारिएको र यति लामो समयसम्म राजनीतिमा रहेको दलका केपी ओली त्यति उत्तेजित भएर सप्तरीमा प्रस्तुत हुनु दुर्भाग्यपूर्ण हो ।

 

राजनीतिक सभा सम्मेलन गर्नु भनेको सबैको मौलिक र संवैधानिक अधिकार हो । यो बहसको विषय होइन । तर, यसलाई कसरी बुझ्न सकिन्छ भने, आफ्नो जमिनमा खेतिपाती गर्ने सबैको अधिकार हुन्छ । तर, मंसिरममा गएर धानको बिऊ राख्न खोजियो भने उचित हुँदैन । त्यसकारण अधिकारलाई बुद्धिमानपूर्ण प्रयोग गर्नुपर्छ । यसले उत्तेजनात्मक स्थिती ल्याउँदै छ भन्ने बुझेपछि त्यहाँबाट गएर प्रस्तुत हुने शैली र उत्तेजनालाई भड्काउने किसिमले प्रस्तुत हुनु हुँदैनथ्यो ।

त्यहाँ केपी ओलीले मधेसको असन्तुष्टि हामीले बुझेका छौँ यो समस्या हामी आफैँ यहीँ बसेर छलफल गर्छौ भनेर भन्न सक्थे । तर, केपी ओलीजस्तो मान्छेले त्यहाँ कालो झण्डा देखाएर युथ फोर्सका केटाहरु ल्याउँछु भन्दै धम्काएको सुहाएन । उहाँजस्तो व्यक्ति देशलाई विभाजन गर्ने ग्र्याण्ड डिजाइनको स्क्रिप्टअनुसार चल्नु हामी सबैको लागि दुर्भाग्यपूर्ण कुरा हो ।

 

एमालेले मेची–महाकाली अभियानमा मधेसी मोर्चाले मधेसमा फैलाएको भ्रमलाई हटाउनका लागि गरेको भन्ने कुरा म मान्दिन । त्यहाँ त्यसरी उत्तेजीत भएर भाषण गर्नुभन्दा त्यो उत्तेजनाबाट अलिकति पछि हटेर कार्यक्रम गरेको भए एमालेको गरिमा घट्ने थिएन ।

 

अहिले एमालेको जति पनि घटना घटिरहेको छ । यो एमालेभित्रकै रणनीतिलेमात्र यसमा काम गरिरहेको छैन । एमाले भित्रको अहिलेका नेताहरुको जुन सांगठनिक स्थिति छ, त्यसमा अन्तराष्ट्रिय खेलो फड्को गर्ने र एमालेका नीतिलाई प्रभाव पार्ने तत्वहरुले राम्ररी काम गरिरहेका छन् । केपी ओलीलाई उत्तेजित गराएर उपयोग नै गरिएको छ ।नेपालका धेरै ठूला नेताहरुलाई आफूलाई उपयोग गरिएको ज्ञान हुँदैन । उपयोग भइसकेपछि बल्ल चेत हुन्छ । कतिपय नेताहरुले पश्चताप नै गर्न पाएनन् । केपी ओली दोस्रो पटक उपयोग भएको देख्छु । उहाँले पश्च्ताप गर्ने समय पाउनुभएको छ तर गर्नुहुन्न ।

 

एमालेको अहिलेको सांगठनिक स्थिती र नेताहरुको स्थितीमा जसरी खेलोफड्को भएको छ, त्यही स्थिती कांग्रेसमा पनि भएको छ र मधेसी मोर्चामा पनि भइरहेको छ ।

 

गिरिजाबाबुलाई पनि नेपालमा बाह्र बुँदे सहमति गरेर शान्ति सम्झौता गरेपछि उनको काम इतिहासमा रहन्छ भनेर उक्साइयो । त्यही बाह्र बुँदेमा टेकेर आएका विषयवस्तुले अहिले हामीलाई कतिसम्म असर पारिरहेको छ भन्ने कुरा सबैले बुझेका छन् । सुशील कोइरालालाई पनि बिपीले नसकेको संविधान सभामार्फत एक थानको संविधान ल्याउनुभयो भने युगान्तकारी मान्छे बन्न्ुहुन्छ भने भनियो । संविधान आयो यस्तो । जसको परिणाम अहिले हामीले भोग्दै छौँ ।आज केपी ओलीको नेतृत्वको पार्टी म आन्तरिक फाँसीबादबाट पनि तल देख्छु । माधव नेपाल र झलनाथ खनालहरुको स्थिती देखेर कहिलेकहीँ दया लागेर आउँछ ।

 

मधसी मोर्चामा पनि कताबाट को को व्यक्ति उपयोग भएका छन् भन्न सकिदैँन । विभिन्न थरिका मानिसहरु छन् । संविधानमा उठाउनुपर्ने मूल कुरा नउठाएर भुरे टाकुरे कुराहरु उठाउँदै हिड्छन् । पूर्नविचार गर्नुपर्ने भनेको मूल रुपमा धर्म निरपेक्षता र संघीयतामा हो । अरु विषयहरु ल्याएर संविधान संशोधनमा विवाद ल्याइएको छ ।

 

एमालेभित्र के हुन्छ भने, जसरी केपी ओलीलाई उपयोग गरिराखिएको छ । त्यही शैलीलाई उपयोग गर्न इश्वर पोख्रेल र भिम रावलजस्ता उत्तराधिकारी स्थापित गरिएको छ । त्यो शैली विफल गराउन पनि अर्कोतिरबाट डिजाइन भइरहेको छ । सँगसँगै माधव नेपाल र झलनाथ खनाललाई धुलो चटाउन पनि इश्वर पोख्रेलले बोलेरै सुरु गरिसके । वामदेव गौतमलाई केपी ओलीले नै राजनीतिक साइजमा पुर्यादिसकेका छन् । विगत ३, ४महिनादेखि हेर्दा एमालेभित्र सुवास नेम्बाङलाई नेताको रुपमा स्थापित गराउन सबैतिरबाट निर्माण गरिदैँ छ । अब कार्यकारी भूमिकामा सुवास नेम्बाङलाई लिएर आउने चाँजोपाँजो लिएर आइदै छ ।

(विश्लेषक अरुणकुमार सुवेदीको भिडियो अन्तर्वार्ताबाट)


arun kumar subedi kura khasra mitha कुरा: खस्रा मिठा अरुणकुमार सुवेदी

विशेष