राजनीति

भारतलाई माफी मगाउनुपर्छ, बलियो छु भन्ने घमन्ड हो - ओली

भारतलाई माफी मगाउनुपर्छ, बलियो छु भन्ने घमन्ड हो - ओली
फागुन २८ । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले कन्चनपुर घटनामा भारतले माफी माग्नुपर्ने बताएका छन् । पार्टीको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत् शनिबार नारायणगढमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले स्थानीय तवरमा वार्ता नगरी केन्द्रीय तवरमा वार्ता गरेर मृतक परिवारलाई क्षतिपूर्ति भराउनुपर्ने पनि बताए । अध्यक्ष ओलीले भने–‘अब यस्तो हुँदैन भनेर भारतलाई माफी मगाउनुपर्छ । भारतको बलियो छु भन्ने घमन्ड हो । अर्काको सिमानामा पस्न पाइँदैन । अन्तर्राष्ट्रिय कानुन भारतले पनि मान्नुपर्छ ।’ खालीहात आफ्नो सिमाना रक्षा गर्दा गोविन्द गौतम देशको पछिल्लो सहिद भएको भन्दै उनले सच्चा नेपाली देशको रक्षार्थ ज्यानको बलिदानी दिन तयार रहेको बताए । सप्तरी घटनाका सन्दर्भमा कडा टिप्पणी गर्दै उनले सरकारले हिंसालाई प्रश्रय दिने काम गरेको आरोप लगाए । आपराधिक तत्वहरुलाई सरकारले हिंसा नगर भन्न नसकेको भन्दै उनले भने–‘हामी हिंसामा जाँदैनौं, तर शान्तिपूर्ण कार्यक्रम रोक्न खोज्यो भने त्यसको परिणाम चर्को हुन्छ भन्न चाहन्छौं ।’ उनले थपे–‘सबैले बुझे हुन्छ, एमाले आफ्नो अभियानमा दृढ छ । एमाले मर्न परे मरौंला तर यो देश बनाएर छाड्छौं भनेर हिँडिरहेका छौं ।’ यो देशलाई कसैको उपनिवेश हुन एमालेले नदिने भन्दै उनले ‘हाम्रा सन्तानलाई पराधीन देश होइन, स्वाधीन र समृद्धि देश जिम्मा लगाउँछौं’–भने । सोही सभालाई सम्बोधन गर्दै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सप्तरीमा पार्टीको नेतृत्वपंक्ति एउटै चिहानमा समाप्त पार्ने कोसिस भएको भन्दै एमालेकै संयमताका कारणले थप दुर्घटना नभएको बताए । उनले एमालेको उद्देश्य विध्वंसकारी नभएर मधेसमा फैलाइएको भ्रम चिर्नेमात्रै भएको बताए । सप्तरी घटना देश टुक्राउन चाहनेहरुले गरेको उनले बताए । सो घटनाको छानबिन हुनुपर्ने पनि उनले बताए । मधेसी, जनजाति, थारु, मुस्लिम, महिला, दलित, हिमाली, पहाडी तराई सबैलाई एमालेविरोधी रहेको भ्रम फैलाइएको भन्दै उनले त्यसैलाई चिर्नका लागि मेची–महाकाली राष्ट्रिय अभियान सन्चालन गरिएको बताए । नेपालको स्वाधीनताको रक्षाकानिम्ति नेकपा एमाले कहिल्यै पछि नपर्ने भन्दै उनले पार्टीको गतिविधिले जनतालाई छर्लंग पारेको बताए । उनले भने–‘नेकपा एमाले देशको रक्षा गर्ने सवालमा अरुको मुख ताक्दैन, अग्रपंक्तिमा अगाडि बढ्छ ।’ निर्वाचन गर्न नसक्ने भए यो सरकारलाई कुर्चीमा बस्ने अधिकार नभएको बताउँदै उनले भने–‘सरकारमा जाने रहर नेकपा एमालेलाई छैन । निर्वाचनपछि एमालेले बहुमत प्राप्त गरेर आफैं जान्छ । तर, निर्वाचन गर्न नसके सरकारलाई कुर्चीमा बस्ने अधिकार छैन ।’ संविधान कार्यान्वयन नभए प्रतिगमनले टाउको उठाउने भन्दै उनले अहिलेसम्मको उपलब्धिलाई खेर जान दिन नहुने बताए । एमालेका उपाध्यक्ष बामदेव गौतमले अहिलेको संविधानले नेपाली जनतामात्रै मालिक बनाएको बताए । उनले नीति र बजेट पेस गरेपछि सरकार गिराउने कार्य कुनैपनि देशमा नहुने भएपनि नेपालमा भएको भन्दै स्थायी सरकारलेमात्र विकास गर्नसक्ने बताए । कार्यक्रममा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, केन्द्रीय अनुशासन आयोगका सदस्य लालमणि चौधरी, जिल्ला इन्चार्ज कृष्ण खनाल सचिव पार्वती रावललगायतले बोलेका थिए । सो अवसरमा नेकपा एमालेमा रहेर महत्वपूर्ण योगदान पुर्‍याएका र हाल अस्वस्थ रहेका जागृतप्रसाद भेटवाललाई अभिनन्दन गरिएको थियो । अभियान शनिबारै मकवानपुरबाट चितवन प्रवेश गरेको हो । चितवनको सीमा लोथरमा अभियानका सहभागीलाई स्वागत् गरेर गाउँगाउँबाट राजमार्गमा आएका एमाले कार्यकर्ताहरु समावेश भइ र्‍याली कार्यक्रमस्थल पुगेको थियो । अभियान शनिबारै नवलपरासीतर्फ प्रस्थान गरेको छ । रासस

KP Sharma Oli

विशेष