राजनीति

मोर्चालाई सत्ता गठबन्धनमा टिकाइराख्नु पर्छ - कांग्रेस

मोर्चालाई सत्ता गठबन्धनमा टिकाइराख्नु पर्छ - कांग्रेस
फागुन - २८ । नेपाली कांग्रेसले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई वर्तमान सत्ता गठबन्धनमा टिकाइराख्न र संविधान संशोधन विधेयक पारित गराउन पहल गर्ने भएको छ । सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा शनिबार बसेको वर्तमान तथा पूर्वपदाधिकारीसहितको बैठकले मधेस आधारित दलबाट आफ्ना माग पूरा नभए सरकारलाई दिइएको समर्थन फिर्ता गर्ने चेतावनीका सम्बन्धमा छलफल गरी सो मोर्चालाई समीकरणमा निरन्तर कायम राख्न पहल गर्ने निर्णय गरेको हो । मोर्चाले आफूले उठाएको मागबमोजिम संविधान संशोधन हुनुपर्ने, स्थानीय निकायको निर्वाचनका कार्यक्रम फिर्ता र सप्तरी घटनाका दोषीमाथि कारबाहीलगायतका विषयमा यही फागुन २५ गते ध्यानाकर्षण बुझाउँदै एक साताभित्र माग सम्बोधन नभए सरकारलाई दिएको समर्थन स्वतः कायम नरहने जानकारी दिएको थियो । बैठकपछि कांग्रेस नेता रमेश लेखकले संविधान संशोधन विधेयक पारित गराउने प्रक्रिया अघि बढाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायत दलसँग पार्टीले वार्ता, संवाद र पहल गर्ने निर्णय भएको जानकारी दिए । उनले आगामी वैशाख ३१ गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन सम्पन्न गराउन पनि पार्टीले पहल गर्ने बताए । उक्त पदाधिकारी बैठक आगामी चैत १ गते पुनः बस्नेछ ।

Congress Meeting

विशेष