राजनीति

बाबुरामलाई ओलीको आरोप, संविधान बनाउने बेलामा सदनमा सभापति बनेर भत्ता बुझ्ने त्यहि संविधान नमान्ने

बाबुरामलाई ओलीको आरोप, संविधान बनाउने बेलामा सदनमा सभापति बनेर भत्ता बुझ्ने त्यहि संविधान नमान्ने

फागुन ३० । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाले देश बचाउन र देश बनाउन दृढ संकल्पित भएकोे बताएका छन् ।

पार्टीद्वारा आयोजित मेचिमहाकालि जागरणसभालाई आइतबार भैरहवामा सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री ओलिले एमालेले देशविगार्ने गरी गरिने कुनैपनि संशोधनलाई नस्वीकार्ने बताए ।

सम्बोधनको क्रममा अध्यक्ष ओलीले मधेसी दलप्रति आक्रामक हुदैं बुहारी र ज्वाई भित्राएर स्वाभीमानी नेपालीहरुलाई अपमान गर्न खोज्ने मधेसीदल नेपालीका प्रतिनिधी हुनै नसक्ने बताए । उनले भने ‘संविधान बनाउने बेला सदन भित्र र बाहिर गरेर खुरुखुरु हस्ताक्षर गरेर भत्ता बुझ्ने, समितीका सभापति बनेर सुविधा लिने नकचरोको पनि हद हुन्छ ।” मधेसीलाई विभेद गरियो भनेर चिच्याउने मधेसी मोर्चा भनिनेहरुका मागलाई कदापि स्वीकार्य नहुने बताउँदै ओलीले दुई चार जना जम्मा गरेर सडकमा उफ्रिनेका कुरा सुन्ने सरकार हजारौँ मानिसको सभाको म्यान्डेटलाई नजरअन्दाज गर्नु बिडम्बनापूर्ण भएको समेत बताए ।

मधेसी मोर्चाको नाममा जनतालाई ठग्ने काम भएको, संविधानमा के छ जनतालाई नबताउने मधेसी मोर्चाले सबै किसिमको सुविधा लिने तर संविधान मानेको छैन भन्दै हिँड्ने प्रवृत्ति प्रति आक्रोश व्यक्त गरे ।

उनले भने, “पछिल्लो समय एउटा नयाँ शक्ति भन्ने भ्रष्ट बुद्धिजीवीहरुले एमालेमुक्त नेपाल भनेछन् उनीहरुलाई कसले बुद्धि दिन्छ एमाले मजदुरका बीचमा हुन्छ, राष्ट्रसेवकका बीचमा हुन्छ, सीमान्तीकृतका बीचमा हुन्छ । समग्रमा नेपाली जहाँ हुन्छ,एमाले त्यहाँ हुन्छ । एमाले बिनाको समाज परिकल्पना पनि गर्न सकिँदैन ।”

सोही सभालाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष वामदेव गौतमले २०७४ माघ ७ गतेसम्म तीनवटै तहको निर्वाचन गर्नु मुख्य जिम्मेवारी भएको माथि जोड दिए । उनले भने “७ दशकको संघर्षबाट प्राप्त भएको संविधान कार्यान्वयन गर्न माघ ७ गतेभित्र तीनवटै तहको निर्वाचन गर्नु जरुरी छ । यदि कसैले यो निर्वाचनलाई रोक्न खोज्छ भने त्यस्तालाई तत्काल जेल हाल्नुपर्दछ । पूर्व गृहमन्त्री समेत रहेका गौतमले मधेसी मोर्चाप्रति आक्रोशित हुँदै भने “एमालेलाई तराईमै आउन दिनुहुँदैन भनेर मधेसी मोर्चाले भाषण गर्ने हिम्मत कहाँबाट आयो ? के यो तराई महन्थ ठाकुर, राजेन्द्र महतो र उपेन्द्र यादवको आमाले पेट बोकेर जन्माएको थलो हो र ?”

सप्तरीमा आफ्नो ज्यानको बाजी लगाएर शीर्ष नेताको ज्यान जोगाउने सुरक्षा अधिकारीलाई सरकारले कारबाही गर्नु अत्यन्तै गलत भएको बताए । उनले रौतहटमा माओवादीका २९ जना नेता कार्यकर्तालाई भालाले घोची घोची मारेजस्तै सप्तरीमा एमालेको शीर्ष नेतृत्वलाई सखाप गर्न खोज्ने मधेसी मोर्चाको आवरणमा रहेका अपराधीलाई तत्काल कारबाही गर्न माग गर्दछु भन्दै गौतमले सरकार र मोर्चाले मुलुकमा निर्वाचन नचाहेको आरोप लगाए ।

सभालाई सम्बोधन गर्दै एमाले ५ नम्बर प्रदेशका सह–संयोजक दल बहादुर रानाले नेता बन्न रहर गर्ने तर नेतृत्व गर्न नसक्नेले देश चलाउँदा अहिले मुलुक संकटमा फसेको बताए । माओवादी, कांग्रेसको सरकारले आफैले सही गरेर पास गरेको संविधानको मसी सुक्न नपाउँदै संशोधन प्रस्ताव गरेको छ भन्दै उनले राप्रपा, विजय गच्छदारलाई सरकारको मन्त्री बनाएर संविधान संशोधन गर्न थालिनु झनै रहस्यमय भएको बताए । उनले सरकारले तथा कथित मधेसवादी दललाई उकासेर एमालेको अभियानलाई बिथोल्न खोजेको आरोप समेत लगाए ।

सभामा एमाले नेता रघुवीर महासेठले मधेसीलाई खस शासकले हैन मधेसी मोर्चाले शोषण गरिरहेको तर्क गर्दै भने “मधेसी मोर्चा बाहिरबाट परिचालित शक्ति हो । संविधान संशोधन कदापि हुँदैन । अंगीकृत नागरिकता जथाभाबी बाँड्ने हो भने मुलुक धरासायी हुन्छ । संसारमा नागरिकता प्राप्तिको लागि सबैभन्दा सजिलो देश नेपाल हो । यहाँ त अहिले बिहान बिहे गर्ने, दिउँसो नागरिकता लिने र साँझा मन्त्री बन्ने काम भैरहेको छ । यसलाई तत्काल रोक्नुपर्दछ ।

महासेठले पहाडिया समुदायबिनाको मधेस, मधेसबिनाको नेपाल र एमालेबिनाको सरकारको कल्पना गर्न सकिँदैन भनेर आफूले ०६२ सालमा राजविराजमा दिएको नारा सार्थक हुँदै आएको पनि तर्क गरे ।

उक्त सभामा एमाले नेता तथा सांसद आदित्यनारायण कसौधनले एमाले मधेसी, पहाडी र हिमालीको पार्टी भएको जनाउँदै भने “यो भैरहवा मेरो कर्मथलो, जहाँ बुद्ध जन्मे । यो ठाउँमा एमालेको शीर्ष नेतृत्व आएर सामाजिक सद्भाव र शान्तिको लागि यति ठूलो सभा सम्पन्न गर्दैछ । यो आफैमा गौरवको कुरा हो ।”

करिब ५० हजार जनताको सहभागिता रहेको भैरहवाको सभामा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, महासचिव ईश्वर पोख्रेल, उपमहासचिवद्वय विष्णु पौडेल, घनश्याम भुषाल, सचिवहरु प्रदिप ज्ञवाली, योगेश भट्टराई लगायत शीर्ष नेतृत्वको सहभागिता रहेको थियो ।

baburam bhattarai KP Oli

विशेष