परासीदेखि बर्दियासम्मको एक मधेश हुनपर्छ भन्नेले राष्ट्रियताको कुरा गर्न सुहाउँदैन : कमल थापा
फागुन ३० । राप्रपा अध्यक्ष कमल थापा पार्टी परित्याग गरेका वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीकोे आलोचना गरेका छन् ।
आज बिहान लगातार चारवटा ट्वीट गर्दै उपप्रधानमन्त्री समेत रहेका थापाले लोहनीले आफूमाथि लगाएको आरोपहरुको खण्डन गरेका हुन् । लोहनीले आइतबार पार्टी परित्यागको घोषणा गर्दा संयमित प्रतिक्रिया जनाएका थापा सोमबार भने आक्रमक रुपमा प्रस्तुत भएका छन् । लोहनीले पार्टी छाडेपछि आइतबार आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलबाट थापाले लोहनीले पार्टी परित्याग गर्दा आफू दुखित भएको र यस्तो अपेक्षा नगरेको बताएका थिए ।
सोमबार बिहान उनी निकै आक्रामक शैलीमा प्रस्तुत हुँदै लोहनीले राष्ट्रियताको कुरा गरेको नसुहाउने बताएका छन् ।
लगातार चारवटा ट्वीट गरेका थापाले पहिलो ट्वीटमा लेखेका छन्,
हिजो गणतन्त्रमा भोट हालेका र परासीदेखि बर्दियासम्म मधेस मात्रको प्रदेश प्रस्तावका लेखकले पार्टी छोड्दै चर्को राष्ट्रियताको कुरा गरेको सुहाएन ।
त्यसपछि दोस्रो ट्वीटमा उनले लेखेका छन्
दोहराएर भन्छु (राप्रपाले संसदमा हाल बिचाराधिन विधेयकको पक्षमा मत दिंदैन । निर्णयार्थ पेश भए बिपक्षमा भोट हाल्छ । आफ्नो स्वार्थकालागि भ्रम नछरौं ।
तेस्रो ट्वीट
हामी सरकारमा जानु अगावै राप्रपा सरकारमा थियो । चुनाव सुनिश्चितताकोलागि मात्र सरकारलाई नैतिक बलदिन शिर्षतहमा सहभागि भएको हो । भ्रमको खेती नगरौं ।
चौँथो ट्वीट
पार्टी एकिकरण गर्दा भएको लिखित सम्झौता अनुरूप पार्टीको चुनाव चिन्ह वारे निर्णय भएको हो । लिखित सम्झौता बाहेक अरु कुनै गोप्य सहमति भएको थिएन ।
लोहनीले नेतृत्वले हलो चुनाव चिन्ह राखिने विगतको समझदारीलाई लत्याएको, पार्टीमा कुनै छलफलै नरगी अध्यक्ष कमल थापा सरकारमा गएको लगायतका आरोप लगाउँदै पार्टी परित्याग गरेका थिए ।
राप्रपा र राप्रपा नेपालबीच गत मंसिर ६ गतेमात्रै एकता भएको थियो भने गत फागुन ६ देखि ११ गतेसम्म एकता महाधिवेशन भएर कमल थापा अध्यक्षमा चयन भएका थिए ।
राप्रपाको साताअघि बसेको केन्द्रीय समिति बैठकले बहुमतको निर्णय भन्दै पार्टीको झण्डा र चुनाव चिन्हमा दुबै गाई राख्ने निर्णय गरेको थियो ।
राप्रपा पक्षधर त्यसमा पनि लोहनी लगायतले निर्णयमा असन्तुष्टि जनाउँदै आएका थिए भने उनले सार्वजनिक रुपमै हलोप्रति विश्वास राख्नेहरुलाई धर्य गर्न अपिल गरेका थिए ।
kamal Thapa