राजनीति

लोहनीद्वारा राप्रपा परित्याग !

लोहनीद्वारा राप्रपा परित्याग !
फागुन ३० । डा. प्रकाशचन्द्र लोहनीले राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेको घोषणा गरेका छन् । रिपोर्टर्स क्लबमा आज(सोमबार) पत्रकार सम्मेलन गरी नेता डा लोहनीले राप्रपा र राप्रपा नेपालबीच एकता महाधिवेशनपछि पार्टीको विधानलाई उपेक्षा गरिएको र महाधिवेशनका क्रममा भएका समझदारीलाई लत्याइएको आरोपसहित पार्टी परित्याग गरेको घोषणा गरे । “एकता महाधिवेशनपछि पार्टी सानो समूहको स्वार्थपूर्ति गर्ने झुण्डको रुपमा प्रयोग हुन थालेको छ,” उनले भने – “पार्टीमा देखिएको अवसरवादी र अराजक प्रवृतिबाट पार्टी प्रतिष्ठा ध्वस्त हुँदै गइरहेको छ । देश र जनताको हितमा काम नगर्ने पार्टीमा आबद्ध भइरहनु देश र जनता दुबैप्रति विश्वासघात हो । त्यसैले म राप्रपाबाट अलग हुन परेको हो ।” उनले संविधान संशोधन विधेयकमा पार्टीको विमति रहेको र आवश्यक परे सरकारबाट बाहिरिने भने पनि अध्यक्ष कमल थापाले कुनै छलफल नै नगरी मधेसको समस्यालाई समाधान गर्छु भनेर सरकारमा पुग्ने हतियारका रुपमा त्यसलाई प्रयोग गरेको आरोप लगाए । देश अशान्त भएको बेला केन्द्रीय समितिको बैठक बोलाई पार्टीमा छलफल गर्नुको सट्टा संकटको फाइदा उठाई सरकार जानु अवसरवादी चरित्र भएको उनको भनाइ थियो । उनले भने , “मधेसी दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने भनेपछि सरकार टिकाउने राजनीतिक सौदा गरी अध्यक्ष आफंै सरकारमा जानु दुर्भाग्यपूर्ण हो ।” राप्रपाका राष्ट्रिय अध्यक्षसमेत हुनुभएका डा लोहनीले पार्टी एकीकरण पछि पार्टीको चुनाव चिन्ह हलो राख्ने सहमतिलाई समेत पार्टी अध्यक्षले लत्याएको आरोप लगाए । उनले पार्टीबाट अलग भएपनि राजनीतिमा सक्रिय रहिरहने जानकारी दिए । “म अब के गर्ने भन्ने सम्बन्धमा देशभरका साथीभाइसँग छलफल गर्छु,” उनले भने, “म राजनीतिक व्यक्ति हुँ । सक्रिय राजनीति गर्छु ।”

Prakash Chandra Lohani

विशेष