निर्वाचनमा सहभागी हुनुपर्नेमा एमाले नेताको जोड
चैत्र–१ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिका नाममा मुलुकमा द्वेष, विग्रह र द्वन्द्व फैलाउन खोज्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।
सो दलद्वारा सञ्चालन गरिएको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत साेमबार आयोजित आमसभालाई सम्बोधन गर्दै उनले भने, “केही असामाजिक तत्वबाट जात, धर्म, सम्प्रदाय र भूगोलका नाममा अराजकता मच्चाउन खोज्ने प्रयासलाई आफनाे दलले कदापि पूरा हुन दिने छैन ।” मधेसी जनतालाई भ्रममा राखेर राजनीतिक अधिकारका नाममा झुठो प्रचार गरी संविधान कार्यान्वयन हुन नदिने संयुक्त मधेसी मोर्चाले जनताको साथ नपाउने उनको तर्क थियो ।
अध्यक्ष ओलीले संविधानको कार्यान्वयनका लागि निर्वाचनमा जानुको विकल्प नभएको बताउदै कसैको झुठो प्रचारमा नलागी आमनेपाली जनता निर्वाचनमा सहभागी हुनुपर्नेमा जोड दिए । आमसभामा सो दलका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नाे दलको जागरण अभियान कसैका विरुद्धमा लक्षित नभएको बताउँदै राष्ट्रिय एकता बलियो बनाउनेतर्फ मात्र केन्द्रित छ भने । पार्टीका उपाध्यक्ष वामदेव गौतम र नेता लालबाबु पण्डितले जनताको मनमा बसेको एमालेलाई समाप्त पार्न मधेसमा भइरहेको प्रपञ्चलाई सफल हुन नदिने उद्घोष गरे ।
दुई राउन्ड हवाइफायर नेकपा (एमाले)को मेची–महाकाली अभियान बिथोल्ने प्रयासस्वरुप आयोजना गरिएको बन्दका क्रममा दुई राउन्ड हवाइफायर र चार राउन्ड अश्रुग्यास प्रहार भएको छ । बाँकेको सोनपुर गाविस र उढरापुर गाविसको सिमाना पर्ने गोन्हनामा मधेसी मोर्चाका कार्यकर्ता र एमालेका कार्यकर्ताबीच भएको दोहोरो झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले दुई राउन्ड हवाइफायर र चार राउन्ड अश्रुग्यास प्रहार गरेको हो ।
प्रहरीले बन्दकर्तालाई हटाउन खोज्दा लाठी प्रहार गरेपछि बन्दकर्ताले प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए । प्रहरीमाथि ढुङ्गामुढा हुन थालेपछि प्रहरीले अश्रुग्यास र हवाइफायर गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । रासस
एमाले
केपी शर्मा ओली
निर्वाचन
मेची-महाकाली राष्ट्रिय अभियान