ताजा खबर मुख्य समाचार समाज

नेपाल एरलाइन्सको विमानबाट ५ हजार लिटर तेल चुहियो, ठूलो दुर्घटनाबाट बच्यो विमानस्थल

नेपाल एरलाइन्सको विमानबाट ५ हजार लिटर तेल चुहियो, ठूलो दुर्घटनाबाट बच्यो विमानस्थल
चैत ३ । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल एउटा गम्भीर दुर्घटनाबाट जोगिएको छ । एउटा जहाजबाट हजारौं लिटर हवाई इन्धन (तेल) चुहिएपछि विमानस्थल व्यवस्थापनले द्रुत गतिमा काम गर्न सकेका कारण दुर्घटना टरेको हो । नेपाल वायुसेवा निगमको गत सोमबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको एउटा ठूलो जहाज मंगलबार मर्मत गर्ने क्रममा साँझ पौने ७ बजे त्यसबाट पाँच टन (५ हजार लिटर) तेल चुहिन पुगेको थियो । ‘एघार नम्बरको पार्किङ बेमा रहेको निगमको एयरबस ३२० जहाजको दायाँ पखेटाबाट तेल चुहिएपछि दमकल, पानीट्यांकर, सुरक्षाकर्मी, एम्बुलेन्स एकैचोटि परिचालित गरेर दुर्घटना र्टायौं,’ विमानस्थल सञ्चालन निर्देशक तथा प्रवक्ता प्रेमनाथ ठाकुरले भने, ‘चुहिएको तेलमा मसिनो आगोको झिल्कोमात्र परेको भए जहाजदेखि वरिपरिका सम्पूर्ण पूर्वाधार पड्केर ध्वस्त हुन्थ्यो, धन्न हामीले सुझबुझका साथ काम गरेर सबै जोगाउन सक्यौं।’ युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा निर्मित एक सय ५८ सिट क्षमतायुक्त निगमको ‘ए३२०–२००’ सिरिजको उक्त जहाजको मंगलबार राति साढे ११ बजे युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई जाने तालिका थियाे । ‘९एन–एकेडब्लु’ कलसाइन भएको यो जहाजलाई उडान तालिकामा राखिए पनि दुई दिनदेखि ‘ग्राउन्डेड’ थियो । ‘दायाँ पखेटामा रहेको इन्धन ट्यांकको फ्युल पम्प बिग्रिएकाले मर्मत गर्दै थियौं, तर ट्यांकको बिर्को खोल्न खोज्दा भित्रको हाउजिङसहित सबै निस्कियो’, सम्बद्ध एक अधिकारीले भने, ‘त्यसपछि भित्रको प्रेसरले तेल बाहिर निस्किन थाल्यो, रोक्नै सकिएन।’ विमानस्थलका प्रवक्ता ठाकुरका अनुसार जहाजबाट तेल चुहिएको थाहा पाउनसाथ तत्काल विमानस्थल दमकल (फोमसहितको), पानी ट्यांकर, सुरक्षाकर्मीलगायत जहाज वरिपरि परिचालन गरियो । तेल बिस्तारै नजिकैको कुलो (ड्रेनेज) मा बगाउन थालियो । जहाजलाई गुडाउँदै ह्यांगरमा लाने क्रममा पनि तेल थोपाथोपा चुहिरहेपछि बाल्टी थाप्दै तेल भुइँमा झर्न नदिइएको र जहाजसँगसँगै दमकल पनि गुडाउँदै लगिएको उनले बताए । भुइँ र ड्रेनेजमा पोखिएको तेलमाथि ‘फोम’ छ्यापेर पानीको फोहोराले पखाल्दै डेढ घन्टा लगाएर सफा गरिएको थियो । नागरिक

Nepal Air

विशेष