मोदीले सोधे, ‘१० महिनामा तीन तहको निर्वाचन होला ?’
चैत्र–५ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘अबको १० महिनाका तीनै तह केन्द्र, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न होला त’ भनी जिज्ञासा राखेका छन् ।
भारतमा आतंकवादसम्बन्धी सम्मेलनमा भाग लिन आएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँगको भेटमा मोदीले त्यस्तो जिज्ञासा राखेका हुन् । निधिले आगामी वैशाख ३१ मा स्थानीय चुनाव र त्यसपछि क्रमशः प्रादेशिक तथा केन्द्रीय संसदको निर्वाचन तयारी भइरहेको बताएपछि मोदीले त्यस्तो जिज्ञासा राखेका हुन् ।
मोदीसँगको भेटपछि निधिले संविधान संशोधन तथा मधेसवादी दलहरुको मागबारे ‘स्पेसिफिक’ कुरा नभएको बताए । उनले स्थानीय चुनावका लागि आवश्यक पर्ने लजिस्टिक सहायताबारे मोदीलाई अनुरोध गरेको र सकरात्मक जवाफ पाएको बताए । भारतीय विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसँगको भेटमा भारतीय पक्षले निधिलाई मधेसवादी दलहरुका मागलाई सम्बोधन गरेर निर्वाचनमा जान आग्रह गरेको थियो ।
मोदी र निधिबीचको भेटपछि भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा निधिले मोदीलाई नेपालको पछिल्लो विकसित घटनाक्रमबारे जानकारी गराएको उल्लेख छ । तर पछिल्लो घटनाक्रमबारे के उल्लेख भयो भन्ने खुलाइएको छैन । मोदीले निधिसँग सदीयौंदेखिको दुई देशको सम्बन्ध अझ सुदृढ गर्न आफू प्रतिबद्ध रहेको बताएको वक्तव्यमा उल्लेख छ ।
मोदीले नेपालले गर्ने आर्थिक र सामाजिक विकासका लागि भारतले सधैं सहयोग गर्ने बताएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । –कान्तिपुर दैनिकबाट