राजनीति

आयोगले राप्रपालाई दिएको निर्देशन प्रति जनमोर्चाको ध्यानाकर्षण

आयोगले राप्रपालाई दिएको निर्देशन प्रति जनमोर्चाको ध्यानाकर्षण
चैत्र–६ । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई दिएको निर्देशन प्रति राष्ट्रिय जनमोर्चाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । आयोगले राप्रपालाई पार्टीको विधानका केही नीति बदल्न निर्देशन दिएको थियो । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै राप्रपाको ‘राजतन्त्र’ र ‘हिन्दू धर्म’ सम्बन्धी नीतिलाई बदल्न आयोगले दिएको निर्देशन गलत भएको बताएका छन् । उनले निर्वाचन आयोगको उक्त निर्देशन संविधानमा व्यवस्था गरिएको अधिकारविरुद्ध भएको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘हरेक पार्टीका आ–आफ्ना सिद्धान्त, नीति र कार्यक्रमहरु हुन्छन् । तिनीहरु आफ्नो पार्टीका प्रतिवेदन, विधान वा घोषणपत्रहरुमा राखिएका हुन्छन् । तिनीहरु राज्यको संविधान, कानुन वा नियमहरुसँग मेल नखान सक्दछन् । त्यो सम्बन्धित राजनीतिक दलको स्वतन्त्रताको कुरा हो,’विज्ञप्तिमा भनिएको छ । राप्रपा नेपाल र राप्रपाबीच पार्टी एकतापछि आयोगमा पठाइएको राप्रपाको विधानबाट संविधान विपरीतका शब्द समेटिएको भन्दै निर्वाचन आयोगले ‘राजतन्त्रसहितको प्रजातन्त्र र हिन्दु राष्ट्र’ भन्ने शव्दावली झिकेर विधान स्वीकृत गरेपछि राप्रपा त्यसको विरोधमा उत्रिएको छ । यता आयोगले दलको उद्देश्य धार्मिक र साम्प्रदायिक देखिएमा दल दर्ता गर्न इन्कार गर्न पाउने अधिकार आफूसँग भएको स्पष्ट गरेको छ ।

निर्देशन निर्वाचन आयोग राष्ट्रिय जनमोर्चा राष्ट्रिय प्रजातन्त्र पार्टी

विशेष