राजनीति

प्रधानमन्त्री प्रचण्डले चीनमा राजकीय सम्मान नपाउने

प्रधानमन्त्री प्रचण्डले चीनमा राजकीय सम्मान नपाउने

चैत्र ७ । यही बिहीबार छिमेकी मुलुक चीनको भ्रमणमा जाने तयारीमा जुटेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चीनले राजकीय सम्मानका साथ स्वागत नगर्ने भएको छ ।

भ्रमणको तयारीका लागि पर्याप्त समय नभएको जनाउँदै चीनले प्रधानमन्त्री दाहाललाई विशेष आतिथ्यका साथ स्वागत गर्ने भएको हो । बोआओ फोरममा अतिथिका रुपमा सहभागी हुन प्रधानमन्त्री दाहाललाई शनिबार औपचारिक निम्तो पठाउँदै चीनले भ्रमणको प्रकृति प्रस्ट्याएको हो । नेपालका लागि चिनियाँ राजदूत यु होङले शनिबार बिहान परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलाई भेटेर भ्रमणको औपचारिक निम्तो र कार्यतालिका हस्तान्तरण गरेका थिए ।

प्रधानमन्त्रीको भ्रमणलाई राजकीय रुपमा तयारी गर्न नेपालले ठूलो प्रयत्न गरे पनि चिनियाँ पक्षले उच्चस्तरीय भ्रमणको तयारी गर्न समय पर्याप्त नभएको जवाफ पठाएको परराष्ट्र मन्त्रालयको उच्चस्रोतले जनाएको छ ।

काठमाडौंस्थित चिनियाँ दूतावासका अधिकारीहरुले गत साता प्रधानमन्त्री प्रचण्डलाई भेटेर चीन भ्रमणको अनौपचारिक निम्तो दिएलगत्तै सरकार प्रधानमन्त्रीको भ्रमणको तयारीमा जुटिरहेको छ ।

यही चैत १० देखि १३ गतेसम्म चीनको हेनान प्रान्तमा आयोजना हुने बोआओ फोरममा अतिथिका रुपमा सहभागी हुन चीनले प्रधानमन्त्री प्रचण्डलाई निम्तो दिएको हो ।

समाचारपत्र

Puspakamal Dahal

विशेष