राजनीति

मधेसी मोर्चाले अाजपनि गर्यो संसद् बैठक बहिष्कार

मधेसी मोर्चाले अाजपनि गर्यो संसद् बैठक बहिष्कार
चैत–७ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आजको व्यवस्थापिका–संसद् बैठक पनि बहिष्कार गरेको छ । बैठक सुरु हुनासाथ मोर्चाका तर्फबाट सांसद डिम्पलकुमारी झाले तराई–मधेसमा केही दिनअघि सप्तरी र नेपालगन्जमा भएको घटनाका बारेमा छानबिन समिति गठन गर्न माग गरिन् । ती घटनाप्र्रति दुःख व्यक्त गर्दै उनले शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमनका कारण मानवीय क्षति भएको आरोप लगाइन् । वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमाथि मधेस केन्द्रित दलहरुले आशा गरेर समर्थन गरेकोमा आफूहरुलाई धोका भएको बताउँदै सांसद झाले साेमबारको बैठकमा पनि परिमार्जनसहितको संविधान संशोधन प्रस्तावको कार्यसूची नआएको भनी आपत्ति जनाइन् । संविधान संशोधनको सट्टा सरकारले स्थानीय तहको निर्वाचनको कुरा गरेर मोर्चाको घाउमा नुन छर्कने काम गरेको आरोप लगाउँदै उनले भनिन् – “हामी सहमति र वार्तामार्फत समस्या समाधान गर्न चाहन्छौँ, हामी सहमति गरेर संविधानप्रति अपनत्व खोजिरहेकाबेला संशोधन प्रस्तावलाई राष्ट्रघाति भनेकोप्रति हाम्रो आपत्ति छ ।” आफूहरु देशभित्रै अधिकार मागिरहेको भन्दै सांसद झाले ‘मेरो गोरुको बाह्रै टक्का’ भनेर बसेको सरकारलाई वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्नका लागि पहल गरिदिन सभामुखलाई आग्रह गरिन् । त्यसको लगत्तै मोर्चासँग आबद्ध दलका नेताहरु नारा लगाउँदै बैठकबाट बाहिर निस्किएका थिए। रासस

बहिष्कार व्यवस्थापिका–संसद् बैठक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा

विशेष