निर्वाचन रोक्नु पर्ने कुनै कारण छैन : रावल
चैत्र–७ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले स्थानीय तहको निर्वाचन रोक्नु पर्ने कुनै कारण नभएको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले साेमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निर्धारित मितिमा नै निर्वाचन हुने विश्वास व्यक्त गर्दै कुनै एक राजनीतिक दलले निर्वाचनमा भाग नलिँदैमा निर्वाचन नरोकिने बताए ।
“निर्वाचनमा भाग लिन नलिने त्यो पार्टीको इच्छाको कुरा हो,” उनले भने – “बीस वर्षदेखि हुन नसकेको निर्वाचनमा सहभागी हुन पाउने भएपछि जनता उत्साहित देखिएका छन् । त्यसैले जनतालाई अधिकार दिन तोकिएकै समयमा निर्वाचन गराउनुपर्छ ।”
उनले निर्वाचनको मिति तल माथि भए सरकारले कुर्ची छाड्नुपर्ने बताए । उनले सङ्घीयता चाहने दल संयुक्त मधेसी मोर्चाले नै सङ्घीयताको विरोध गरेको उल्लेख गदै भर्खर गठन भएको स्थानीय तहको कार्यालय तोडफोड गर्नु ठीक नभएको धारणा व्यक्त गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले निर्वाचन र संविधान संशोधन सँगसँगै लैजानुपर्ने बताए ।
उनले निर्वाचनमा मधेसी मोर्चालाई पनि सहमत गराएर लैजानुको विकल्प नभएको पनि बताए । अहिले स्थानीय तहमा विवाद सिर्जना भए पुरानै स्थानीय निकायको निर्वाचन गर्नुपर्ने उनको भनाइ थियो ।
“नयाँ संरचनामा जाँदा समस्या हुन्छ भने पुरानै संरचनामा गएर निर्वाचन गरौंं,” उनले भने – “पुरानो संरचनामा जाँदा मधेसवादी दलमा पनि आउँछन् ।” रासस
निर्वाचन
पत्रकार सम्मेलन
भीम रावल