राजनीति

सरकारले स्थानीय तह निर्वाचन गराएरै छाड्ने - खनाल

सरकारले स्थानीय तह निर्वाचन गराएरै छाड्ने - खनाल
चैत ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का राजनीतिक सल्लाहकार चक्रपाणि खनाल (बलदेव)ले सरकारले घोषणा गरेको स्थानीय तह निर्वाचन हुनेमा आशंका नगर्न आग्रह गरेका छन् । नेकपा (माओवादी केन्द्र) निकट युवा संघठन योंग कम्युनिष्ट लिग (वाइसिएल) म्याग्दीको तेस्रो जिल्ला सम्मेलनको सोमबार बेनीमा उद्घाटन गर्दै उनले यस्तो बताएका छन् । आगामी वैशाख ३१ गते सरकारले स्थानीय तह निर्वाचन गराएरै छाड्ने उद्घोष गर्दै उनले निर्वाचनपछि जनताको घरदैलोमा सरकारी सेवा सुविधा पुग्ने धारणा राखे । “संघीयतामार्फत जिल्ला सदरमुकाममा केन्द्रित सेवा सुविधा अब गाउँपालिका र नगरपालिकामार्फत जनताको पहुँचमा पुग्दैछ, अब सेवा सुविधा मात्रै होइन आफ्नो गाउँठाउँको बजेट कसरी निर्माण गर्ने र विकास कसरी गर्ने भन्ने कुरा जनताकै हातमा हुन्छ”– उनले भने । उनले माओवादीको जनयुद्ध र जनआन्दोलनको जगबाट मुलुकमा संघीयता, धर्म्निरपेक्षता र समानुपातिक समावेशीताजस्ता मुद्दा स्थापित भएको बताउँदै ती मुद्दालाई संस्थागत गर्न स्थानीय तहको चुनाव अपरिहार्य रहेकोमा जोड दिए । उनले मधेसमा देखिएको समस्यालाई सरकारले राजनीतिक रुपमै हल गर्ने प्रयास गरेको बताउँदै चुनाव कसैले चाहेर नरोकिने बताए । उनले प्रधानमन्त्री दाहालले हिमाल, पहाड र तराईलाई जोड्ने गरी ठूलो परिवर्तनपछि प्राप्त उपलब्धिलाई संस्थागत गर्न लागिपरेको धारणा राखे । तत्कालीन माओवादी जनमुक्ति सेनाका डेपुटी कमाण्डरसमेत रहनुभएका खनालले जनताको अधिकार स्थापित गर्न माओवादीले जनयुद्ध गरेको स्मरण गर्दै नयाँ संविधानको कार्यान्वयन हुन सकेमा मात्रै माओवादी आन्दोलन र जनयुद्धको लक्ष्य पूरा हुने बताए ।

chakrapadi khanal

विशेष