राजनीति

यस्तो छ प्रधानमन्त्रीको चीन भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्रीको चीन भ्रमण तालिका
चैत्र ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सातदिने औपचारिक चीन भ्रमणका क्रममा दुई महत्वपूर्ण कार्यक्रममा सहभागी हुने भएका छन्। प्रधानमन्त्रीले १२ चैतमा हाइनान प्रान्तस्थित बोआओ मञ्चको सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री प्रचण्डले १४ चैतमा बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग दुईपक्षीय औपचारिक वार्ता गर्नेछन्। आकस्मिक रूपमा भ्रमण तय भएका कारण राष्ट्रपति सीसँग १५ मिनेट मात्रै औपचारिक कार्यक्रम तय भएको चिनियाँ दूतावासले प्रधानमन्त्रीलाई जानकारी दिएको छ । ‘पूर्वनिर्धारितभन्दा पनि आकस्मिक रूपमा प्रधानमन्त्री प्रचण्डको औपचारिक कार्यक्रम तय भएको हो, चिनियाँ राष्ट्रपतिले अन्य कार्यक्रमको समय कटाएर हाम्रा प्रधानमन्त्रीसँग भेटको समय तय गर्नुभएको जानकारी आएको छ,’ प्रधानमन्त्री कार्यालय स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘चिनियाँ राष्ट्रपतिले पूर्वनिर्धारित कार्यक्रम सच्याएर प्रधानमन्त्रीसँग भेटको समय तय गर्नुलाई चीनले हामीलाई दिएको महत्त्व मान्नुपर्छ ।’ स्रोतका अनुसार १५ मिनेटको समयमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रधानमन्त्री प्रचण्डले आधा दर्जन एजेण्डामा छलफल गर्ने तय भएको छ । प्रधानमन्त्रीका समकक्षी ली खछियाङ र परराष्ट्रमन्त्री डा‍.प्रकाशशरण महतका समकक्षी वाङ यी चीनबाहिर हुने भएकाले सम्झौताहरूमा हस्ताक्षर हुने कार्यक्रम छैन । ‘कुनै सम्झौतामा हस्ताक्षर हुनेछैन, तर हामी केही महत्वपूर्ण विषयमा समझदारी निर्माण गरेर फर्किने तयारी भइरहेको छ,’ परराष्ट्रमन्त्री महतले भने । महतका अनुसार चीनले प्रस्ताव गरेको वान बेल्ट वान रोड ओबीओआरमा नेपाल सहभागी हुने विषय, पारवहन तथा यातायातसम्बन्धी गत वर्ष भएको सम्झौताका आधारमा तयार गरिएको प्रोटोकल, विद्युत् प्रसारणलाइन तथा ग्रिडलगायत सीमासम्बन्धी विषयमा छलफल हुनेछ। लगानी, सरकारी संस्थाहरूको क्षमता अभिवृद्धि, रेलवे, पूर्वाधारलगायतका विषयमा पनि छलफल हुने कार्यक्रम रहेको उनले जानकारी दिए । यस्तो छ प्रधानमन्त्री प्रचण्डको चीनभ्रमण तालिका १० चैत हाइनानका लागि ग्वानजाओ प्रस्थान ११ चैत आराम १२ चैत बोआओ मञ्चको सम्मेलनलाई सम्बोधन १३ चैत बेइजिङ प्रस्थान १४ चैत चिनियाँ राष्ट्रपति सी जिनपिङसँग ग्रेट हल अफ द पिपुलमा भेटवार्ता १५ चैत तिब्बतको ल्हासा आउने र त्यहीँ बस्ने १६ चैत स्वदेश फिर्ता नयाँ पत्रिका

Dahal Chaina Visit

विशेष