राजनीति

प्रधानमन्त्रीको चीन भ्रमणमा सम्झौताको कार्यक्रम नरहने

प्रधानमन्त्रीको चीन भ्रमणमा सम्झौताको कार्यक्रम नरहने
चैत्र–९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार चीन प्रस्थान गर्दैछन् । प्रधानमन्त्री बोवाओ फोरमको सम्मेलनमा सहभागी हुन चीन प्रस्थान गर्न लागेका हुन् । बिहीबार राति ११ बजे चीनको ग्वान्झाओ प्रस्थान गर्ने प्रधानमन्त्रीले दक्षिणी चीनको हेनान प्रान्तमा चैत १० देखि १३ सम्म हुने बोवाओ सम्मेलनमा सहभागिता जनाउनेछन् । बोवाओ फोरम फर एसियाका महासचिव एच इ झो यङहङको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेका हुन् । भ्रमणमा प्रधानमन्त्रीले चीनका राष्ट्रपति सि जिन पिङसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि बनेको छ । भेटमा द्वीपक्षीय सम्बन्धलाई अझ बिस्तार र सुदृढ गर्ने सम्बन्धमा कुराकानी हुने जनाइएको छ । तर सो भ्रमणमा कुनै सन्धि, सम्झौता, समझदारीमा हस्ताक्षरको कार्यक्रम नभएको परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले जानकारी दिएका छन् । उनले नेपाल चाइना रिलेसन प्रोस्पेक्टस् फर ग्रोथ एण्ड प्रोस्पेरिटी विषयमा वेइजिङ फरिजन स्टडिज युनिभर्सि्टिजमा विभिन्न विद्वान, शिक्षाविद्, व्यवसायी तथा विद्यार्थीहरुलाई सम्बोधन गर्ने र उक्त विश्वविद्यालयको परिसरमा स्थापित नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्ने तथा सोही चिनियाँ व्यापारीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भ्रमण दलमा पत्नी सीता दाहाल, परराष्ट्रमन्त्री प्रकाशशरण महत, परराष्ट्रसचिव शंकरदास बैरागी तथा मन्त्रालयका अन्य पदाधिकारी सम्मिलित हुनेछन् । प्रधानमन्त्रीको भ्रमण दल चैत १६ गते ल्हासाबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

चीन भ्रमण प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड बोवाओ फोरम सम्मेलन

विशेष