राजनीति

मधेसी मोर्चाको बैठक स्थगित

मधेसी मोर्चाको बैठक स्थगित
चैत्र - ९ । संयुक्त मधेसी मोर्चाले विरोध गरेपछि निर्वाचन आयोगको कार्यालय महोत्तरीले जिल्लामा मतदानस्थल थप गर्न बोलाइएको आजको बैठक स्थगित भएको छ। स्थानीय निर्वाचन प्रयोजनका लागि थप २७ वटा नयाँ मतदानस्थल कायम गर्नुपर्ने भएकाले निर्वाचन कार्यालय महोत्तरीले सर्वदलीय बैठक बोलाएको थियो। बैठकमा मधेसी मोर्चाका नेता तथा कार्यकर्ताले मधेसको माग पूरा नहुञ्जेल आफूहरू निर्वाचनमा भाग नलिने भन्दै विरोध जनाएपछि बैठक स्थगित गर्नुपरेको निर्वाचन अधिकृत पिङ्की रायले जानकारी दिइन्। मधेसी मोर्चाले निर्वाचनअगावै संविधान संशोधन गरेमात्र आफूहरू चुनावमा भाग लिने स्पष्ट पार्दै सद्भावना पार्टीका नेता सुदीप झाले त्यसअघि हुने स्थानीय तहको निर्वाचन तयारीका अन्य काममा पनि विरोध जनाउने बताए। महोत्तरीमा यसअघि २३३ मतदान केन्द्र कायम थियो । स्थानीय तह पुनसंरचनाअनुसार २७ वटा नयाँ मतदान केन्द्र थप्नुपर्ने आवश्यक देखिएकाले दलीय सहमतिका लागि बैठक बोलाइएको हो । सर्वदलीय सहमति हुन नसकेपछि बैठकमा उपस्थित मधेसी मोर्चा, नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत अन्य राजनीतिक दलका प्रतिनिधिहरूकै सहमतिमा बैठक स्थगन गर्ने निर्णय गरिएको थियो ।

Morcha

विशेष