राजनीति

निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालार्इ गच्छदारको निर्देशन

निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालार्इ गच्छदारको निर्देशन
चैत्र - ९ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य भएको बताएका छन्। सो पार्टीद्वारा आज विराटनगरमा आयोजित कार्यकर्ता भेलामा उनले संविधान कार्यान्वयनको पहिलो सर्त स्थानीय तहको निर्वाचन भएकाले त्यसको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए। अध्यक्ष गच्छदारले मधेसी मोर्चालगायत असन्तुष्ट पक्षलाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउने वातावरण बनाउन सरकारलाई आग्रह गरे । उनले भने –‘सरकारले प्रस्तुत गरेका संविधान संशोधन विधेयक परिमार्जन गरेर पारित भए मात्र निर्वाचनको वातावरण बन्न सक्छ ।’ मधेसी, थारु, आदिवासी जनजातिको मागलाई सम्बोधन गर्न मधेसमा तीन र पहाडमा पाँच प्रदेश बनाउन सक्नुपर्दछ, अध्यक्ष गच्छदारले भने– ‘प्रमुख राजनीतिक दलहरू आफ्नो निर्णय र अडानमा बस्न नसकेकाले मुलुकमा राजनीतिक स्थिरता आउन नसकेको र गतिरोध बढ्दै गएको छ ।’ उनले मुलुकको बिधमान समस्या निकासका लागि प्रमुख राजनीतिक दललाई दूरदर्शी निर्णय गर्न र मधेसी दललाई पनि अनावश्यक अडान नलिन आग्रह गरे। सम्मानजनक स्थिति बने नेपाली काँंग्रेससँग एकीकरण हुनसक्ने बताउँदै अध्यक्ष गच्छदारले भने – ‘एकीकरणको अवस्था नभएपनि निर्वाचनका लागि समीकरण हुन सक्ने सम्भावना बढेर गएको छ ।’ रासस

विजयकुमार गच्छदार

विशेष