राजनीति

चिनियाँ रक्षामन्त्री आज नेपाल आउँदै

चिनियाँ रक्षामन्त्री आज नेपाल आउँदै
चैत १० । छिमेकीमुलुक चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको तीनदिने औपचारिक भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आउँदै छन् । रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चाङको नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधिमन्डल नेपालको औपचारिक भ्रमणमा आउन लागेको रक्षा मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग चीनका रक्षामन्त्री चाङले प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार  शिष्टाचार भेट गर्नेछन् । रक्षामन्त्री खाँण र चाङबीच सिंहदरबारस्थित रक्षा मन्त्रालयमा बिहीबार नै भेटवार्ता हुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । चिनियाँ रक्षामन्त्री चाङले नेपाली सेनाको उपत्यका पृतनाको निरीक्षण तथा अवलोकन भ्रमण गर्नेछन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग उनले शुक्रबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्नेछन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिसँग रक्षामन्त्री चाङले सोही दिन भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । यसअघि, सोही दिन बिहान मन्त्री चाङले सैनिक मुख्यालयमा प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भेटवार्ता गर्नेछन् । रक्षामन्त्री चाङले वसन्तपुर क्षेत्रका क्षतिग्रस्त सम्पदाको अवलोकन भ्रमण गर्नेसमेत कार्यक्रम रहेको छ । नियाँ रक्षामन्त्रीको नेपाल भ्रमणका क्रममा आपसी हित, द्विपक्षीय चासो र सहयोगकाबारेमा छलफल हुने रक्षा मन्त्रालयका प्रवक्ता उत्तमप्रसाद नागिलाले राससलाई जानकारी दिए । चिनियाँ रक्षामन्त्री चाङको उच्चस्तरको भ्रमणले नेपाल र चीनबीचको सम्बन्धमा थप उचाइ प्रदान गर्ने विश्वास प्रवक्ता नागिलाले व्यक्त गरे । नेपालको पूर्वाधार निर्माणमा चीनको सबैभन्दा ठूलो सहयोग रहँदै आएको छ । चीनले पछिल्लो समय नेपालका ऊर्जा, सडक सञ्जाल, प्रविधि तथा व्यापार क्षेत्रमा लगानी र सहयोग गरिरहेको छ ।

Chinia Defence Ministry

विशेष