
चैत्र–१० । वैदेशिक रोजगारीबाट फर्किएकाको सीप परीक्षण गरी त्यसका आधारमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले योग्यताको प्रमाणपत्र दिनुपर्नेमा बिहीबार आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् ।
सिटिइभिटी र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएओ)ले संयुक्त रुपमा आयोजना गरेको ‘वैदेशिक रोजगारीबाट फर्किएकाको स्वदेशी श्रम बजारमा पुनःस्थापना’ विषयक कार्यशालामा उनीहरुले कामदारले विदेशमा सिकेको सीपको उचित प्रयोग र सम्मान हुनुपर्ने बताए । उनीहरुले वैदेशिक रोजगारीबाट फर्किएकाले सिकेको सीप र कमाएको रकमको समुचित प्रयोगका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।
सिटिइभिटीका निमित्त सदस्यसचिव रमेशकुमार बखेतीले वैदेशिक रोजगारीबाट फर्किएकालाई सीप परीक्षण गरी योग्यताको प्रमाणपत्र दिने प्रस्ताव सकारात्मक भएको बताउँदै त्यसका लागि आवश्यक तयारी भइरहेको जानकारी दिए । आइएलओका नेपाल निर्देशक रिचार्ड हवार्डले विदेशबाट नेपाल फर्किएकाले कस्तो सीप सिकेका छन् भन्ने अध्ययन हुनु आवश्यक रहेको बताउँदै स्वदेशमा फर्किएपछि पुनःरोजगारीका लागि कामदारलाई बिदेसिनुपर्ने बाध्यताको अन्त्य हुनु आवश्यक रहेको बताए ।
सिटिइभिटीका पूर्वनिर्देशक चन्द्रभक्त नकर्मीले प्राविधिकतर्फ एकदेखि चार तहसम्मको श्रेणीको तालिम सिटिइभिटीले प्रदान गरिरहेको तथा तह एकलाई प्राविधिकतर्फको मुखिया, दुईलाई खरदार, तीनलाई सुब्बा र चारलाई अधिकृत तह मान्ने गरी विसं २०६० सालमै राजपत्रमा सूचना समेत प्रकाशित भइसकेको जानकारी दिए । सोही प्रमाणपत्रका आधारमा नेपाल टेलिकम, विद्युत् प्राधिकरण, सुरक्षा निकाय लगायतमा धेरैले रोजगारी पाइरहेको उनले बताए । श्रम तथा रोजगार मन्त्रालयका उपसचिव जीवन राईले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यमी बनेकालाई प्रोत्साहन गर्न मन्त्रालयले उद्यमी पुरस्कारका लागि आवदेन माग गरिएको र त्यस्ता आठ जनालाई पुरस्कृत गर्न लागेको जानकारी दिए ।
कार्यक्रममा आप्रवाससम्बन्धी परामर्शदाता इशान घिमिरेले ‘आप्रवास र स्वदेशमा फर्किएका आप्रवासी कामदारको वर्तमान अवस्था’ विषयक कार्यपत्र प्रस्तुत गर्दै वैदेशिक रोजगार ऐन, नियमावली, योजना आयोगले बनाउने आवधिक योजना लगायतमा वैदेशिक रोजगारीबाट फर्किएकाको सीपको सदुपयोग गर्ने उल्लेख भए पनि व्यवहारमा त्यो लागू हुन नसकेको बताए ।
प्रमाणपत्र
वैदेशिक रोजगारी
सीप परीक्षण