राजनीति

हरेक मतदाता र उम्मेदवारलाई सुरक्षा दिइने, १२ जिल्लाको मतपत्र छापियो

हरेक मतदाता र उम्मेदवारलाई सुरक्षा दिइने, १२ जिल्लाको मतपत्र छापियो
चैत्र–१० । निर्वाचन आयोगले आगामी ३१ वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित ढङ्गले सम्पन्न गराउने उद्देश्यले ‘स्थानीय निर्वाचन र निर्वाचन सुरक्षा योजना’ का विषयमा सुरक्षा निकायका अधिकारीसँग छलफल गरेको छ । स्थानीय तहको निर्वाचन सुरक्षाको तयारीको पछिल्लो अवस्थाबारेमा जानकारी लिइएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । छलफलमा आयोगका पदाधिकारीले सुरक्षा तयारीका विषयमा कमजोरी हुन नपाओस् भनेर थप सुझाव पनि दिएका थिए । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतदानपछिको मतपेटिका ढुवानी, मतगणनाको सुरक्षा तथा समग्र निर्वाचनको व्यवस्थापनमा समेत सचेत र चनाखो रही सुरक्षा व्यवस्था हुने गरी काम गर्न निर्देशन दिए । निर्वाचन आयोग, उच्चस्तरीय सुरक्षा समितिका संयोजकसमेत रहेका आयुक्त सुधीरकुमार शाहले गृह मन्त्रालयबाट प्राप्त सुरक्षा योजनाप्रति सन्तोष व्यक्त गर्दै केही विषयमा थप स्पष्ट गर्न र कार्यान्वयनयोग्य सुरक्षा योजनालाई प्राथमिकता दिन आग्रह गरेका थिए । गृहसचिव लोकदर्शन रेग्मीले क्षेत्रीयदेखि वडास्तरसम्म सुरक्षा व्यवस्था मिलाउने तयारी गरिएको र हरेक मतदाता तथा उम्मेदवारलाई सुरक्षा सुनिश्चितता दिने किसिमले मन्त्रालय अगाडि बढेको जानकारी गराए । छलफलमा आयुक्त इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सचिव गोपीनाथ मैनाली पनि सहभागी थिए । यसैगरी निमित्त प्रहरी महानिरीक्षक डा दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, मुख्य अनुसन्धान निर्देशक दिलीपराज रेग्मी र नेपाली सेनाका उपरथी विनोदकुमार श्रेष्ठसमेत सहभागी थिए । मतपत्र छपाइ जारी स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्रको छपाइ जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा जारी छ । ६ चैतदेखि शुरु भएको छपाइका क्रममा १२ जिल्लाका मतपत्र छापिइसकेको प्रवक्ता शर्माले जानकारी दिए । रासस

मतदाता र उम्मेदवार मतपत्र सुरक्षा

विशेष