राजनीति

स्थानीय तहका कार्यकारी अधिकृतलाई तालिम दिइने

स्थानीय तहका कार्यकारी अधिकृतलाई तालिम दिइने
चैत्र–१० । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सात सय ४४ स्थानीय तहका कार्यकारी अधिकृतलाई यही चैतको तेस्रो हप्तामा पुनः संरचना गरिएका नयाँ संरचना सञ्चालनसम्बन्धी तालिम दिने भएको छ । त्यसका लागि सात वटै प्रदेशमा तालिम सञ्चालनका लागि आजदेखि ६० उपसचिवलाई प्रशिक्षक प्रशिक्षण सुरु गरिएको मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा चारदिने प्रशिक्षणबाट प्रशिक्षित प्रशिक्षकले यही चैत १५ गतेदेखि १७ गतेसम्म स्थानीयस्तरमै तालिम सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ । संविधानले स्थानीय तहलाई दिएको अधिकार, व्यवस्थित सहरी विकास, भवन निर्माणसंहिता, आवधिक योजना, प्रशासन, लेखा, मन्त्रालयले स्थानीय तहमा जारी गरेको कार्य सञ्चालन आदेश, निर्वाचित जनप्रतिनिधि आएपछिको कार्य सञ्चालन प्रक्रियालगायत दैनिक कार्य सञ्चालनका विषयमा स्थानीय तह प्रमुखलाई प्रशिक्षण दिइने उपसचिव चिरञ्जीवी तिमल्सिनाले बताए । स्थानीय तहले प्रदेश र सङ्घसँग कसरी समन्वय गर्ने भन्ने विषयमा पनि तालिम दिइने मन्त्रालयले जनाएको छ । सरकारले गत फागुन २७ गते नेपाल राजपत्रमा सूचना प्रकाशन गरी स्थानीय निकाय भङ्ग गरी तह लागू गरेको थियो । मन्त्रालयले चार वटै महानगरपालिकामा कार्यकारी अधिकृत पनि खटाएको छ । काठमाडौँमा यसअघिदेखि नै ईश्वर पौडेल कार्यरत छन् भने ललितपुरमा हरि दाहाल, भरतपुरमा प्रेमराज जोशी र पोखरा महानगरपालिकामा दीर्घनारायण पौडेललाई जिम्मेवारी दिइएको छ । गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाका कार्यकारी अधिकृतलाई चैत पहिलो सातामै मन्त्रालयले खटाइसकेको छ । गाउँपालिकामा अधिकृत, नगरपालिका र उपमहानगरपालिकामा उपसचिव र महानगरपालिकामा सहसचिवलाई कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ। रासस  

कार्यकारी अधिकृत तालिम स्थानीय तह

विशेष