राजनीति

सिमांकनलाई थाति राखेर संविधान संशोधन प्रस्ताव अगाडि बढाउने प्रस्ताव एमालेद्वारा अस्विकार

सिमांकनलाई थाति राखेर संविधान संशोधन प्रस्ताव अगाडि बढाउने प्रस्ताव एमालेद्वारा अस्विकार

चैत्र ११ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सीमांकनलाई थाती राखेर अरु विषय अगाडि बढाउनेबारे तत्काल सहमति गर्न नसक्ने जानकारी प्रधानमन्त्रीलाई गराएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणअघि सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी ओली, उपाध्यक्ष वामदेव गौतम र नेपाली कांग्रेसका नेता कृष्ण सिटौला सम्मिलित बैठकमा एमालेले यस्तो धारणा राखेको हो । बैठकमा प्रधानमन्त्री पुष्प कमल दाहालले संविधान संशोधनको विषयबारे सीमांकनलाई अहिले होल्ड गरी अरू विषय भाषा, नागरिकता र राष्ट्रिय सभाको प्रतिनिधित्वका विषयमा समझदारी गरि अगाडि बढ्न आग्रह गरेका थिए ।

सत्तारूढ दल र मधेसी मोर्चाबीच बनाएको कार्यदलको तर्फबाट सिटौलाले तयार गरेको विषयबारे पनि प्रधानमन्त्रीले जानकारी गराएका थिए ।

बैठकमा एमाले नेताहरुले सरकारले मोर्चासँगको विषयमा कुनै ठोष प्रस्ताव नल्याएको भन्दै आफूहरूले तत्काल कुनै निर्णय गर्न नसक्ने स्पष्ट पारेको छ । बैठकमा प्रधानमन्त्रीले चीन भ्रमणको जानकारी गराएका थिए । यसअघि बिहीबार नै प्रधानमन्त्री दाहालले संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसंग पनि छलफल गरेका थिए ।

विशेष