चिनियाँ रक्षामन्त्रीसँग प्रधानमन्त्रीले भने, ‘चीनविरोधी गतिविधी हुन दिँदैनौं’
चैत्र–१२ । नेपालले आफ्नो भूमिमा कुनै पनि किसिमको चीनविरोधी गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरेको छ । तीनदिने नेपाल भ्रमणमा आएका चिनियाँ रक्षामन्त्री क्वानवान च्याङसँग प्रधानमन्त्री पुष्पकमल दाहालले यस्तो प्रतिबद्धता व्यक्त गरेको दोस्रो दिन शुक्रबार उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले पनि प्रतिबद्धता दोहोर्याएका हुन् ।
बिहीबार पुष्पकमल दाहाल र रक्षामन्त्री बालकृष्ण खाँणले च्याङसँग नेपाल एक चीन नीतिमा अडिग रहेको पनि बताएका थिए । च्याङले सबै उच्चस्तरीय भेटमा तिब्बत र ताइवान चीनको अभिन्न अंग रहेको भन्दै चीनविरोधी गतिविधि हुन नदिन आग्रह गरेका थिए । उनले चीनले अघि सारेको वान बेल्ट वान रोड (ओबर) परियोजनामा साझेदार बन्न पनि नेपाललाई आग्रह गरेका छन् । शुक्रबार प्रधानसेनापति राजेन्द्र क्षत्रीले पनि च्याङसँग भेट गरे ।
नेपाली सुरक्षा निकायमा आधुनिकीकरण गर्न चीनले चासो दिएको छ । रक्षामन्त्री च्याङले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सञ्चार प्रणाली आधुनिकीकरण गर्ने, गृह मन्त्रालयका अधिकारी तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीको क्षमता अभिवृद्धिका लागि तालिम उपलब्ध गराने विषयमा गृहमन्त्री निधिसँग छलफल गरेको गृह मन्त्रालयले जनाएको छ ।
गत वर्ष भूकम्पपछि बन्द रहेको तातोपानी नाका खुलाउनेतर्फ पहल गर्न मन्त्री निधिले रक्षामन्त्री च्याङको ध्यानाकर्षण गराएको थिए । भेटमा च्याङले अरनिको राजमार्ग पुननिर्माणलाई चीन सरकारले उच्च प्राथमिकता दिने बताएका छन् ।
गतिविधी
चिनियाँ रक्षामन्त्री क्वानवान च्याङ
चीनविरोधी
पुष्पकमल दाहाल ‘प्रचण्ड’