राजनीति

देउवाको आलोचनामा पौडेल पक्ष उत्रने

देउवाको आलोचनामा पौडेल पक्ष उत्रने
चैत १३ र लामो समयपछि आइतबार बस्न लागेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा संविधान संशोधन र निर्वाचनले भन्दा सभापति शेरवहादुर देउवाको एकवर्षे सुस्त कार्यकालले बढी प्राथमिकता पाउने देखिएको छ । पार्टी नेतृत्व सम्हालेर काम गर्न थालेको एक बर्ष पुरा भएकै बेला बस्न लागेको बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल समूह देउवाको काम गर्ने शैलीलाई लिएर बढी नै आक्रामक बन्ने तर्खरमा छ । कोइराला परिवारबाट देउवाले पार्टी नेतृत्व लिएर काम गर्न थालेको चैत ५ देखि एक बर्ष वितेको छ । तर, यो अवधिमा विधानतः दुई महिनाभित्र सम्पन्न गर्नुपर्ने पार्टी केन्द्रीय कार्यसमितिमा २१ सदस्य मनोनयन, उपसभापति, महामन्त्री र सहमहामन्त्री नियुक्ति, विभाग, कार्यसम्पादन समिति, संसदीय समितिलगायत पार्टी संरचनालाई पूर्णता बनाउने काम देउवाले गर्न सकेनन । देउवा आफैले प्रतिबद्धता गरे अनुसार नियमित केन्द्रीय कार्यसमितिको बैठक समेत राख्न सकेनन् । एक बर्षमा उनले महासमिति बैठक राख्ने प्रतिबद्धता समेत गरेका थिए । तर, केन्द्रीय कार्यसमितिको बैठक राख्न बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले यसबीचमा लिखित नै माग गर्नुपर्ने अवस्था आयो । केही समयअघि पौडेलले पार्टीलाई सामूहिक निर्णय पद्दतिमा चलाउन माग राख्दै केन्द्रीय कार्यसमितिको बैठक बोलाउन देउवालाई पत्र दिएका थिए । पत्राचार गरेको भन्दै उनले तत्काल बैठक बोलाउन इन्कार गरे । बर्ष गाँठमा देउवाले केन्द्रीय कार्यसम्पादन समितिलाई पुर्णता दिने भएका छन् । आईतबारको बैठकमा उनले केन्द्रीय कार्यसमितिको मर्यादा क्रमअनुसार २२ जनालाई कार्यसम्पादन समितिमा राख्ने प्रस्ताव गर्ने भएका छन । विभाग प्रमुख तोक्ने तयारी उनको छ । कान्तिपुर

विशेष