राजनीति

कांग्रेस बैठकमा टिकट वितरणसम्बन्धी छलफल

कांग्रेस बैठकमा टिकट वितरणसम्बन्धी छलफल
चैत - १४ । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा आसन्न स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारलाई टिकट वितरण कुन प्रक्रियाबाट दिनेसम्बन्धी विषयमा छलफल भइरहेको छ । बैठकमा सोमबार केन्द्रीय सदस्यहरुले वडादेखि महानगरपालिकासम्मका उम्मेदवारलाई कुन प्रक्रियाबाट टिकट दिँदा उपयुक्त हुन्छ भन्ने सम्बन्धमा आफ्ना धारणा राखिरहेको पार्टी केन्द्रीय कार्यालय सचिवालयले जनाएको छ । नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा उम्मेदवारलाई केन्द्रबाट तथा वडा र गाउँपालिकामा भने जिल्लामा संयन्त्र बनाएर टिकट दिनुपर्ने धारणा राखेको केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले जानकारी दिए । आइतबारबाट सुरु केन्द्रीय समिति बैठकमा स्थानीय तहअनुसारको पार्टीको सांगठनिक संरचना मिलाउने, निर्वाचनमा उम्मेदवार चयन गर्ने प्रक्रिया, पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थालाई निर्वाचनमा परिचालन गर्नेलगायत विषयमा छलफल जारी छ । यसअघि, बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरिसकेको छ । त्यस्तै, केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र तयारी समितिसमेत गठन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकले आइतबार सभापति शेरबहादुर देउवाको अध्यक्षतामा गठित समितिमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा। शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहित पार्टीको वरिष्ठताका आधारमा थप २५ केन्द्रीय सदस्य गरी जम्मा २९ सदस्यीय समिति गठन गरेको थियो । सभापति देउवाको अध्यक्षतामा बसेको बैठकमा प्रस्तुत् प्रस्ताव र मुलुकको समसामयिक राजनीतिक विषयवस्तुमा सोमबार केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, दीपक गिरी, बालकृष्ण खाँण, आनन्दराज ढुंगाना, मोहन बस्नेत, सुरेन्द्रराज पाण्डेलगायतले आफ्ना धारणा राखेका छन् ।

नेपाली काँग्रेस स्थानीय चुनाव

विशेष