राजनीति

केन्द्रमा बढीमा सोह्र मन्त्रालय हुने

केन्द्रमा बढीमा सोह्र मन्त्रालय हुने
चैत्र–१५ । सामान्य प्रशासन मन्त्रालयले केन्द्रमा बढीमा १६ मन्त्रालय रहने प्रारम्भिक मस्र्यौदा प्रतिवेदन तयार पारेको छ । सचिव मोहनकृष्ण सापकोटाको संयोजकत्वमा गठित केन्द्र, प्रदेश र स्थानीय तहको प्रशासनिक सङ्गठनात्मक, संरचना र संस्थागत व्यवस्थापन समितिलाई सहयोग गर्न गठित उपसमितिले केन्द्रमा बढीमा १२ देखि १६ को सङ्ख्यामा मन्त्रालयमा बनाउने मस्यौदा प्रतिवेदन तयार पारेको समितिका सदस्य नन्दराज ज्ञवालीले जानकारी गराए । ‘‘प्रारम्भिक छलफलमा हामीले बढीमा १६ मन्त्रालय बनाउन समितिलाई सिफारिस गर्ने तयारीमा रहेका छौ’’ उनले भने–‘‘एकरुपता र समकालीन काम भएका मन्त्रालयलाई एउटै बनाउन थालिएको छ ।’’ मन्त्रालयका सहायक प्रवक्ता समेत रहेका ज्ञवालीले मन्त्रालयको सङ्ख्या कति रहने टुङ्गो लागेपछि मात्र यसको नामकरण गर्ने जानकारी गराए । सङ्घीय संरचनमा केन्द्रीय सरकारको ७७४ काम हुने व्यवस्था गरिएको छ । सरकारले फागुन १९ गते मन्त्रालयका सचिव सापकोटाको संयोजकत्वमा मन्त्रालय केन्द्र, प्रदेश र स्थानीय तहमा कति सङ्ख्यामा रहनेछन् भनेर प्रतिवेदन बुझाउन समिति गठन गरेको थियो । मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले समितिले केन्द्रमा रहने मन्त्रालयको सङ्ख्या एकिन गरेपछि प्रदेशमा रहने मन्त्रालयको सङ्ख्या निर्धारण गर्ने जानकारी गराए । उपसमितिले तयार पारेको मस्यौदालाई अध्ययन गरेर समितिले सरकारलाई प्रतिवेदन बुझाउने उनले जानकारी गराए । अहिले ३१ वटा मन्त्रालय रहेका छन् । रासस

प्रारम्भिक मस्र्यौदा मन्त्रालय सामान्य प्रशासन मन्त्रालय

विशेष