कला साहित्य

नेपाल र भारतका ५ स्रष्टालाई नइ पुरस्कार

नेपाल र भारतका ५ स्रष्टालाई नइ पुरस्कार

चैत्र - १६ । नइ प्रकाशनले नेपाल र अन्तर्राष्ट्रिय क्षेत्रका पाँच जनालाई २०७३ सालका विभिन्न पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ। नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसार्इंको अध्यक्षतामा बसेको प्रकाशनको विशेष बैठकले सो निर्णय गरेको हो। सोअनुसार दुई लाख राशिको ‘नइ देरुनिख’ अन्तर्राष्ट्रिय पुरस्कार भारतकी विन्द्या सुब्बालाई प्रदान गरिने छ। पाँच दशकअघिदेखि नेपाली वाङ्मयको श्रीवृद्धिका लागि निरन्तर समर्पित रहँदै नेपाली भाषा साहित्यको अन्तर्राष्ट्रिय विस्तारमा समेत महत्वपूर्ण योगदान पुर्‍याएबापत उनलाई सो पुरस्कार प्रदान गर्न लागिएको हो । सो पुरस्कार नेपाली–गोर्खाली मूलका विदेशीलाई मात्र प्रदान गरिन्छ ।

यस्तै साहित्यकार, संस्कृतिविद्, चित्रकार तथा आयुर्वेदाचार्य मोदनाथ प्रश्रितलाई एक लाख राशिको ‘नइ खरा सुकीर्ति पुरस्कार’ समर्पण गरिने छ । उनलाई नेपाली भाषा साहित्यमा छ दशकअघिदेखि समर्पित रहँदै पृथ्वीनारायण शाहको नेपाल एकीकरणबारेको महत्व जनमानसमा फैलाउनाका साथै संस्कृति, चित्रकला र आयुर्वेदका क्षेत्रमा समेत पुर्‍याएको महत्वपूर्ण योगदानका निम्ति सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाइँले जानकारी दिए। त्यसैगरी साढे छ दशकअघिदेखि नेपाली नारी जागरणका लागि निरन्तर सङ्घर्षरत रहँदै नेपाली भाषा साहित्यको सिर्जनामा समेत पु¥याएको विशिष्ट योगदानका निम्ति सुश्री शान्ता श्रेष्ठलाई ५० हजार राशिको ‘नइ खरा प्रदीप्ति पुरस्कार’ प्रदान गर्ने निर्णय भएको छ।

यस्तै नेपाली तथा मैथिली भाषा साहित्य तथा पत्रकारिताका क्षेत्रमा समर्पित हुँदै मैथिली सङ्गीत र चलचित्रको विकासमा समेत क्रियाशील धीरेन्द्र प्रेमर्षिलाई २५ हजार राशिको ‘नइ खरा गौरव पुरस्कार’ प्रदान गर्ने निर्णय भएको छ। यसैगरी समाजसेवा, नाट्याभिनय, छायाचित्र र पठन, लेखन क्षेत्रकी प्रतिभा सुश्री नानी थापालाई १५ हजार राशिको ‘नइ खरा पौरख पुरस्कार’ प्रदान गरिने छ । राजनीतिज्ञ खनूप्रुदे ‘रामबाबु’को सहयोगमा सात वर्षअघि ती पुरस्कारको स्थापना भएका हुन् ।

नइ प्रकाशन

विशेष