'संविधान कार्यान्वयनका लागि निर्वाचन'
चैत्र - १६ ।नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान कार्यान्वयनका लागि निर्वाचन सम्पन्न गर्नु अहिलेको मुख्य कार्यभार रहेको बताएका छन्।
आज महोत्तरीको बर्दिवासमा नेकपा एमाले प्रदेश नम्बर २ द्वारा आयोजित भेलाको उद्घाटन गर्दै पूर्व प्रधामन्त्रीसमेत रहेका नेता खनालले सफल निर्वाचनले मात्र लोकतान्त्रिक संविधानलाई संस्थागत र सुदृढ बनाउने विचार व्यक्त गरे।
वरिष्ठ नेता खनालले अहिले संविधान संशोधन नभई संविधान कार्यान्वयनको आवश्यकता रहेको बताए। अर्का नेता माधवकुमार नेपालले मधेसी मोर्चाले आफ्नो दलका शान्तिपूर्ण कार्यक्रमलाई बिथोल्ने, जनधनको क्षति गराउने फाशिष्ट शैली अप्नाएका र सत्तासाझेदार काँग्रेस र नेकपा माओवादी केन्द्र त्यसको साक्षी बस्ने गरेको आरोप लगाए।
महासचिव ईश्वर पोखरेलले अब आफ्नो दल मोर्चाको निषेधबिरुद्ध शान्तिपूर्ण गतिविधि लिएर जनताबीच जाने बताए।
आज सुरु भएको भेला बिहीबार समापन गर्ने हुने प्रदेश नंं २ का सहसंयोजक नागेन्द्र चौधरीले जानकारी दिए। भेलामा आठ जिल्लाका दुई हजार अगुवा नेता कार्यकर्ता सहभागी छन् ।
Jhalanath Khanal