राजनीति

तोकिएको मितिमा निर्वाचन नभए देशमा उथलपुथल - नेता खनाल

तोकिएको मितिमा निर्वाचन नभए देशमा उथलपुथल - नेता खनाल
चैत्र - १७ । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले स्थानीय निकायको निर्वाचन तोकिएको मितिमा नभए देशमा उथलपुथल हुने बताएका छन्। पत्रकारसँग विहीबार यहाँ कुराकानी गर्दै उनले निर्वाचन समयमा हुन नदिन षड्यन्त्र भइरहेको विचार व्यक्त गरे। अहिलेको सरकारले निर्वाचन स्थगित गर्न कोसिस गरिरहेको आरोप लगाउँदै उनले निर्वाचन गर्ने आँट सरकारले गर्नुपर्नेमा जोड दिए। नेकपा एमालेले स्थानीय निर्वाचनका लागि उम्मेदवार चयनको काम सुरु गरिसकेको छ भन्दै महानगर र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख केन्द्र र अन्य निकायको प्रदेशले उम्मेद्वारी चयन गर्ने र चाँडै नै सबै उम्मेदवारी तय हुने उनले जानकारी दिए। तराईमा फेरि एमालेले कार्यक्रम गर्ने भन्दै उनले यसअघि मधेसी मोर्चाको गैर जिम्मेवारीपूर्ण क्रियाकलापका कारण सप्तरी घटना भएको बताए। मधेसमा– मधेसी मोर्चाले जनता भड्काउने काम गरेको भन्दै उनले सबैलाई थाहा हुनेगरी कोही कसैबाट मधेसी मोर्चा परिचालित भएको खनालको आरोप थियो। उनले भने - 'सप्तरी र महाकालीमा घटना हुँदा पनि मधेसी मोर्चा बोलेनन्।' मधेसलाई संविधानले सम्बोधन गरेको भन्दै उनले हरेक मधेसी जनताका लागि संविधानमा अधिकारको व्यवस्था भएको बताए।

झलनाथ खनाल

विशेष