राजनीति

सोलुखुम्बुमा दल उम्मेद्वार छनोटको गृहकार्यमा

सोलुखुम्बुमा दल उम्मेद्वार छनोटको गृहकार्यमा
चैत्र–१८ । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लास्थित दलले तयारीलाई तीव्रता दिएका छन् । निर्वाचन प्रयोजनका लागि क्रियाशील दलले पार्टीदेखि जनवर्गीय सङ्गठनको पुनर्गठन र गाउँपालिकाको संयोजक र सहसंयोजक तोक्ने काम धमाधम गरिरहेका छन् । नेपाली काँग्रेस सोलुखुम्बुले आन्तरिक तयारीलाई तीव्रता दिएको जिल्ला सभापति विनोद बस्नेतले बताए । “स्थानीय तहको निर्वाचन आफ्नो पक्षमा पार्न जिल्लादेखि गाउँगाउँसम्म निर्वाचन लक्षित कार्यक्रमलाई तीव्रता दिएका छौँ,” उनले भने । स्थानीय तहमा टिकट दिनेबारे पार्टीभित्र छलफल सुरु गरिएको उनले बताए । तर अहिले नै कुनै पनि दलले उम्मेद्वारको टुङ्गो लगाइसकेका भने छैनन् । स्थानीय जनताको चाहनाअनुसार जनमत बढी भएका व्यक्तिलाई टिकट दिने गरी गृहकार्य भइरहेको नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा प्रचारप्रसार प्रमुख वीरउदास श्रेष्ठले बताए । नयाँ संरचनाअनुसार पार्टी सङ्गठन विस्तारलाई तीव्रता दिइएको नेकपा माओवादी केन्द्र सोलुखुम्बुले जित सुनिश्चित गर्ने गरी उम्मेद्वार छनोट गर्न छलफल भइरहेको जनाएको छ । भर्खर पार्टी सचिवालयको बैठक सम्पन्न गरेको केन्द्रले प्रारम्भिक चरणको छलफलपछि केही दिनमै उम्मेद्वारको टुङ्गो लगाउने माओवादी केन्द्र सोलुखुम्बुका संयोजक हेमकुमार राईले बताए । एक नगरपालिकासहित आठ गाउँपालिका रहेको जिल्लामा स्थानीय तहको निर्वाचनमा भाग लिन ११ राजनीतिक दलले जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गराएका छन् । रासस

उम्मेद्वार छनोट दल सोलुखुम्बु स्थानीय तहको निर्वाचन

विशेष