नेपालको पहिलो स्थानीय निकायको निर्वाचनमा महिलाहरुलाई मत हाल्न दिइएको थिएन
चैत–१९ ।
– नेपालमा निर्वाचनको इतिहास वि.सं. २००४ को स्थानीय निर्वाचनबाट सुरु भएको थियो । काठमाडौं म्युनिसिपालिटीको नाममा २००४ जेठ ३ गते तत्कालीन राणा प्रधानमन्त्री पद्मशमशेरले निर्वाचन गराएका थिए । निर्वाचनबाट गेहेन्द्रशमशेर थापा म्युनिसिपालिटीको पहिलो सभापति भएका थिए ।
(त्यतिवेलाको निर्वाचनमा करिब ६५ प्रतिशत मत खसेको अनुमान गरिएको छ । महिलालाई भने मत हाल्ने अधिकार दिइएको थिएन । २१ वर्ष पुगेका पुरुषलाई मात्रै मतदान गर्न पाउने अधिकार थियो ।
(त्यतिवेला म्युनिसिपालिटीमा १३,५५३ घरधुरी र ६८,११८ मतदाता थिए । २१ वटा वडामध्ये सबैभन्दा धेरै मतदाता भएको ११ नम्बर वडामा ९३६ घरधुरी र ६,६०३ मतदाता थिए । सबैभन्दा सानो १८ नम्बर वडामा २०९ घरधुरीमा ४४२ जना मतदाता थिए । वडा नं. २१ बाट निर्विरोध निर्वा्चित भएका भुवनलाल प्रधान नेपालका पहिलो जननिर्वा्चित प्रतिनिधि हुन् ।
(मतदातालाई प्रधानमन्त्री पद्मशमशेरको आदेश थियो, ‘तिमीहरूको मद्दतको निमित्त खटिएका कर्मचारीहरूको रेखदेखमा नगरपालिकाको काम गर्न सक्ने तिमीहरूको प्रतीतको असल, लायक, अनुभवी, प्रतिनिधि छानी पठाउने काम गर ।’)
तर, पहिलो निर्वाचित समितिमा भाँडभैलो
(२१ वडाबाट निर्वा्चित २१ जना र सरकारले मनोनीत गरेका १० जना मिलाएर म्युनिसिपालिटी बोर्ड गठन भएको थियो । तर, मनोनीतहरूसँग विवाद भएपछि निर्वा्चित २१ मध्ये १६ जना सदस्यहरूले राजीनामा दिएका थिए । रिक्त स्थानमा उपचुनाव गराउने घोषणा भए पनि वडामा उम्मेदवार नै तयार नहुँदा निर्वाचन हुन सकेन । वडाहरूबाट निर्वा्चित र मनोनीत गरी १५ जना पदाधिकारी भने २००७ सालको आन्दोलनसम्म नगरपालिकामा कार्यरत थिए ।)
२०१० मा पहिलोपटक महिलालाई मताधिकार
(००७ सालमा प्रजातन्त्र आएपछि १७ भदौ ०१० मा काठमाडौं नगरपालिकाको निर्वाचन भएको थियो । तर, यसपालि २१ वडालाई घटाएर १८ वटा बनाइएको थियो । साथै काठमाडौं म्युनिसिपालिटीको नाम परिवर्तन गरी काठमाडौं नगरपालिका पनि यसै वेला भएको हो ।)
(२१ वर्ष उमेर पुगेकाहरूको गोप्य मतदानद्वारा निर्वाचन भएको थियो । यो निर्वाचनमा महिलाले पहिलोपटक मतदान गर्ने अधिकार पाएका थिए । साथै महिला प्रतिनिधि पनि निर्वा्चित भएका थिए । ५ वटा दलले निर्वाचनमा भाग लिएका थिए भने स्वतन्त्र पनि उम्मेदवार भएका थिए । त्यतिवेला १८ पदका लागि ७३ जनाले उम्मेदवारी दिएका थिए ।
(काठमाडौंको वडा नम्बर ८ बाट ४ हजार ११३ मत खसेकोमा २ हजार ४५५ मत ल्याएर साधनादेवी प्रधान पहिलो महिला जनप्रतिनिधि बनेकी थिइन् ।
२०१४ मा सभापति कांग्रेस, उपसभापति कम्युनिस्ट
(प्रत्येक ४ वर्षमा नगरपालिकाको निर्वाचन गर्ने व्यवस्थाअनुसार काठमाडौं नगरपालिकाको अर्को निर्वाचन २०१४ माघ ७ मा भएको थियो । निर्वाचनमा नगरपालिकाका १८ वडा सदस्यका लागि ४९ जनाले उम्मेदवारी दिएका थिए ।
(निर्वाचनबाट नगरपालिका सभापतिमा कांग्रेसबाट प्रयागराजसिंह सुवाल र उपसभापतिमा नेपाल कम्युनिस्ट पार्टीका कृष्णलाल श्रेष्ठ चुनिएका थिए ।
०१८ को निर्वाचनमा हात उठाएर मतदान
(१ पुस ०१७ मा तत्कालीन राजा महेन्द्रले पञ्चायती व्यवस्था सुरु गरेपछि ०१८ फागुन ७ गते गाउँ पञ्चायतको निर्वाचन गराएका थिए । गाउँसभाभित्रका वडाबाट छानिएका सदस्यबाट प्रधानपञ्च र उपप्रधानपञ्च छान्ने व्यवस्था थियो । गाउँसभालाई ९ वटा वडामा विभाजन गरिएको थियो । निर्वाचन गर्न ४ लाख रुपैयाँ खर्च भएको थियो ।
(मतदातालाई मत दिने ठाउँको कोठामा लगेर ढोका बन्द गरी उम्मेदवारको नाम क्रमशः भन्दै हात उठाउन लगाइन्थ्यो । मत दिइसकेको मतदातालाई क्रमशः बाहिर पठाउँदै प्रत्येक उम्मेदवारको पक्षमा उठेको हातको गणनाका आधारमा विजयी घोषणा गरिन्थ्यो ।
०१९ मा अञ्चल पञ्चायतको पनि निर्वाचन १० हजारभन्दा बढी जनसंख्या भएकोे नगरमा नगर पञ्चायतको स्थापना गर्न सक्ने व्यवस्थाअनुसार ०१९ मा नगर पञ्चायतको निर्वाचन गरिएको थियो । निर्वाचन आयोगले गराएको यो पहिलो निर्वाचनमा उम्मेदवारले ५० रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था थियो भने उम्मेदवारले चाहेको निर्वाचन चिह्न उपलब्ध गराउने व्यवस्था पनि थियो । सोही वर्ष जिल्ला पञ्चायतको निर्वाचन पनि भएको थियो । यो निर्वाचन गोप्य मतदानबाट सभापति, उपसभापति र ९ जना सदस्य गरी ११ जनाको कार्यकारिणी समितिको निर्वाचन भएको थियो । साथै, यसै वर्ष अञ्चल पञ्चायत निर्वाचन पनि भएको थियो । अञ्चलभित्रका जिल्ला पञ्चायतका सदस्यहरू स्वतः सदस्य बन्ने व्यवस्था थियो । सभापति, उपसभापति र ९ जना सदस्य हुने गरी अञ्चल पञ्चायत गठनको व्यवस्था थियो ।
०२० मा उम्मेदवारलाई निर्वाचन रङ यसपालि निर्वाचन हुनु दुई दिनअघि उम्मेदवारलाई रङ रोजाइएको थियो । उम्मेदवारको रोजाइअनुसार गोप्य कोठामा थरीथरीका मतपेटिका राखिएको थियो । मतदाताहरू भित्र गएर आफूले रोजेको उम्मेदवारको रङको बाक्सामा मत खसाल्थे । जसको बाक्सामा धेरै मत हुन्थे उही उम्मेदवार विजयी घोषित हुने व्यवस्था थियो ।
स्थानीय निर्वाचन २०३२ ०३२ मा गाउँ, नगर र जिल्ला पञ्चायतको छुट्टाछुट्टै निर्वाचन भएका थिए । यसपालि अप्रत्यक्ष निर्वाचन पद्धति अपनाई जनप्रतिधि छनोट गर्ने व्यवस्था गरिएको थियो । गाउँ पञ्चायतको निर्वाचनमा उम्मेदवार हुनका लागि गाउँ फर्क राष्ट्रिय अभियानबाट अनुमोदन हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको थियो । प्रत्येक वडाबाट पाँचजना सदस्यको निर्वाचन गरी गाउँसभाका सबै सदस्यमध्येबाट छानिएका नौजना सदस्य वडा समितिको अध्यक्ष हुने व्यवस्था थियो । गाउँ, नगर र जिल्लाका प्रधानपञ्च र उपप्रधानपञ्चले भने खसेको मतको ५० प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था थियो ।
स्थानीय निर्वाचन २०३९ नेपालभर रहेका ४ हजार २२ गाउँ र २९ नगर पञ्चायतसहित जिल्ला पञ्चायतको निर्वाचन भएको थियो । निर्वाचन आयोगले वैशाख २८ र ३१ तथा जेठ ३ र ४ गते निर्वाचन गरेको थियो । प्रत्येक गाउँबाट ४७ जनाका दरले १ लाख ८९ हजार ३४ जना र २९ नगरबाट २ हजार ५ सय प्रतिनिधि छानिने व्यवस्था थियो । यो निर्वाचनमा मन्त्रिपरिषद् सदस्यलाई प्रचारप्रसारमा सरकारी गाडी प्रयोगमा रोक लगाएको थियो ।
निर्वाचनका लागि ४० हजार २२० कर्मचारी गाउँ पञ्चायतमा र २ हजार ९ सय कर्मचारी नगरमा खटिएका थिए । जिल्ला पञ्चायतको निर्वाचनमा सभापतिका लागि दुईजना र उपसभापतिका लागि १२ जना महिला प्रतिस्पर्धामा थिए । साथै सदस्यका लागि १२ जनाले उम्मेदवारी दिएका थिए । सभापतिमा एकजना र सदस्यमा ६ जना महिला निर्वा्चित भएका थिए ।
स्थानीय निर्वाचन २०४३ चैत ७ र १० गते गाउँ र नगर पञ्चायतको निर्वाचन भएको थियो । गाउँ र नगरको निर्वाचनमा १ लाख ९१ हजार ६२ जना जनप्रतिनिधि छानिनुपर्ने थियो । त्यतिवेला ४ हजार १५ वटा गाउँ पञ्चायत र ३३ वटा नगर पञ्चायत थिए ।
उम्मेदवारलाई निर्वाचन खर्चको सीमा तोकिएको थियो । गाउँसभा र गाउँ पञ्चायत सदस्यलाई १५ सय, नगरसभा र नगर पञ्चायत सदस्यलाई ५ हजार, गाउँ पञ्चायत प्रधानपञ्च र उपप्रधानपञ्चलाई ५ हजार, नगर पञ्चायत प्रधानपञ्च र उपप्रधानपञ्चलाई १५ हजार रुपैयाँ सीमा तोकिएको थियो ।
स्थानीय निर्वाचन २०४९ ०४६ को आन्दोलनपछि ४ हजार १५ गाउँ पञ्चायतलाई परिवर्तन गरी ३ हजार ९ सय ९५ गाउँ विकास समिति बनाइएको थियो । ३३ नगरलाई नगरपालिका कायम गरिएको थियो ।
१ करोड २० लाख मतदाता थिए भने कांग्रेसले ६० जिल्ला र एमालेले ८ वटा जिल्लामा सभापति जितेका थिए । राप्रपाले ३ र संयुक्त जनमोर्चाले २ वटा जिल्लामा सभापति जितेका थिए ।
स्थानीय निर्वाचन २०५४ ०५४ वैशाख २० र जेठ ४ मा ३ हजार ९ सय १३ गाविस र ५८ नगरपालिकाको निर्वाचन भएको थियो । त्यतिवेला १ करोड २५ लाख ३८ हजार २ सय ७३ जना मतदाता थिए ।
निर्वाचनबाट गाविस र नगरपालिकामा पौन दुई लाख जनप्रतिनिधि निर्वा्चित भएका थिए । निर्वाचनमा एमालेले ४१ वटा नगरपालिकामा प्रमुख जितेको थियो भने कांग्रेसले ६ वटा र राप्रपाले ३ वटामा प्रमुख जितेको थियो । त्यतिवेला स्वतन्त्र भने ५ जना निर्वा्चित भएका थिए ।
नगरपालिका निर्वाचन २०६२ तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन हातमा लिएपछि ०६२ मा स्थानीय निकायको निर्वाचन गर्न सुरुमा नगरपालिकाको निर्वाचन गरेका थिए । प्रमुख राजनीतिक दलहरूले बहिष्कार गरेको निर्वाचनमा २२ दल सहभागी थिए । ५८ मध्ये २२ वटा नगरपालिकामा निर्विरोध निर्वाचन भएको थियो । ३६ वटा नगरपालिकामा भने मतदान भएको थियो । त्यतिवेला ५८ वटा नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य गरी ४ हजार १ सय ४६ पदका लागि निर्वाचन भएको थियो । तर, राजनीतिक परिवर्तनसँगै सो निर्वाचनले कुनै संवैधानिक मान्यता पाएन । नयाँ पत्रिकाबाट