राजनीति

आफूले लगाएको नाराप्रति आत्मलोचना गर्दै माफी मागिन् हिसिलाले

आफूले लगाएको नाराप्रति आत्मलोचना गर्दै माफी मागिन् हिसिलाले
चैत्र–२१ । नयाँ शक्ति पर्टीकी नेतृ हिसिला यमीले आन्दोलनको क्रममा आफूले लगाएको नाराप्रति आत्मलोचना गर्दै माफी मागेकी छिन् । आन्दोलनको क्रममा लगाएको नारालाई लिएर समाचारहरु प्रकाशित भएपछि सोमबार पत्रकार सम्मेलन गरेर आफूले देशकै अपमान हुने गरी नारावाजी गरेको भन्दै माफी मागेकी हुन् । नयाँ शक्ति पार्टीले आइतबार आयोजना गरेको आन्दोलनको क्रममा निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि पार्टी संयोजक बाबुराम भट्टराईसहित अन्य नेतालाई प्रहरीले पक्राउ गर्ने क्रममा उनले आपत्तिजनक नारा लगाएपछि उनको चर्को आलोचना सुरु भएको थियो । नेतृ यमीले प्रेस विज्ञप्तिमा आफूले अर्धचेत अवस्थामा त्यस प्रकारको नारा लगाएको बताएकी छिन् । 'सुरक्षाकर्मीहरुले हामीलाई समातेर सुरक्षा भ्यानमा राखे । म त्यो बेला आवेस र अर्धचेत अवस्थामा थिएँ । तीब्र आवेसमा म चिच्याउँदै नाराबाजी गर्न लागेछु । त्यसैक्रममा मैले स्थानीय निर्वाचन ऐनको 'यो आदेश खारेज हुनुपर्छ' भन्न खोज्दा वेहोशीपूर्वक अन्यथा हुनपुगेछ,' विज्ञप्तीमा भनिएको छ, 'आन्दोलनको प्रेसर, भाषागत कमजोरी र वेहोसीमा मैले आदेशलाई अन्यथा उच्चारण गर्न पुगेको हुँ । पछि साथीहरुले रोकेपछि मात्रै म होशमा आएँ र आफ्नो गल्ती महसुस गरें ।' उनले भविष्यमा पुन: यस्तो गल्ति नदोहोर्‍याउने प्रतिवद्धता जनाउँदै क्षमायाचना गरेकी छिन् । 'परिस्थितिजन्य घटना र वेहोसीमा आफ्नो प्यारो देशका विरुद्ध मबाट जे जस्ता शब्दहरु निस्किए सोप्रति म अत्यन्त दु:खित छु । म अन्तर हृदयैदेखि यसवापत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुसँग क्षमायाचना गर्दछु,' विज्ञप्तीमा उल्लेख छ ।

आत्मलोचना नारा माफी हिसिला यामी

विशेष