भरतपुर, चैत्र–२१ । स्थानीय तहको अब हुने निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसको तर्फबाट अधिकांश युवा नेताहरु आकांक्षी बनेका छन् ।
महानगरको मेयर पदमा नेपाली कांग्रेस भित्र नै कडा प्रतिस्पर्धा हुने स्थिति देखिएको छ । मेयर पदका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्ण सिटौला निकटका युवा नेताहरु आकांक्षी बनेका हुन् । मेयर पदमा कांग्रेसका केन्द्रीय युवा नेता भरत सापकोटा, टेकप्रसाद गुरुङ, मिलनबाबु श्रेष्ठ, दिनेश कोइराला, भरत गुरुङ, शंकर कँडेल र विजय भुषाल आकांक्षी देखिएका छन् ।

सापकोटा पूर्व सभापति गिरिजाप्रसाद कोइरालानिकट रहेर काम गरेका युवा नेता हुन् । नेपाल विद्यार्थी संघका निवर्तमान सल्लाहकार र परराष्ट्र क्षेत्रसँग समेत नजिक रहेका केन्द्रीय युवा नेता सापकोटा कांग्रेसको भातृ संगठन नेपाल साँस्कृतिक संघका केन्द्रीय सल्लाहकार समेत हुन् ।
विपक्षी पार्टीका नेताहरुसँग समेत राम्रो सम्बन्ध बनाएका सापकोटा धार्मिक तथा सामाजिक कार्यमा समेत सक्रिय छन् ।
मेयर पदमा उनको नाम समेत चर्चामा आएपछि यसबारेमा सोध्दा उनी भन्छन्, ‛मेरो नाम आउनु स्वभाविक छ । तर मैले मेयर पदलाई त्यति महत्वका साथ हेरेको छैन । म बढी केन्द्रीय राजनीतिमा व्यस्त रहने हुँदा मेरो तर्फबाट जिल्लाकै स्थानीय नेताहरुलाई नै पार्टीको लाईन अनुसार सहयोग गर्नेछु ।’

नेपाली कांग्रेस चितवनका पूर्व सभापति टेकप्रसाद गुरुङले पनि मेयर पदमा दाबी गरिरहेका छन् । गुरुङलाई सिटौला निकटको नेता भनेर चिनिन्छ । त्यस्तै अर्का आकांक्षी मिलनबाबु श्रेष्ठलाई भने सभापति देउवा निकटको नेता भनेर चिनिन्छ ।
त्यस्तै कांग्रेसका अर्का युवा नेता भरत गुरुङपनि मेयर पदमा चुनाव लड्ने तयारीमा छन् । पार्टी सभापति देउवा निकट भनेर चिनिएका गुरुङ कांग्रेसको महासमिति सदस्य हुन् । गुरुङ २०४८ सालमा अमृत साइन्स क्याम्पस नेविसंघको अध्यक्ष भईसकेका छन् । गुरुङ आफूलाई पार्टी सभापति देउवाको साथ र समर्थन

रहेको बताउँछन् । उनले आफ्नो चुनावी एजेण्डा विकासमुखी बनाउने घोषणा गर्दै दौडमा लागेका छन् ।
मेयरका लागि अर्का आकांक्षीमा विजय भुषालको नाम पनि आएको छ । जग्गाको कारोबार गर्दै आएका भुषाल पार्टी राजनीतिमा त्यति धेरै चर्चित छैनन् । चितवनमा जग्गाको कारोबार बढ्दै गर्दा उनी पार्टी राजनीतिलाई कम महत्व दिएर जग्गाको काममा लागेका थिए । भुषाल अहिले टिकट पाउन रामचन्द्र पौडेल निकट भएर लागेका छन् ।
उता भरत दवाडी र प्रकाश अधिकारी समेत मेयरको आकांक्षी बनेर चुनावी दौडमा होमिन थालेका छन् । दवाडी र अधिकारी राजनीतिसँगै समाज सेवामा समेत सक्रिय छन् ।
त्यस्तै युवा नेताहरु शंकर कँडेल र दिनेश कोइरालाले पनि मेयर पदमा आकांक्षा देखाएका छन् । कँडेल कांग्रेस जिल्ला कोषाध्यक्ष हुन् । कंडेललाई चितवनका पार्टी सभापति जितनारायण श्रेष्ठले साथ दिएका छन् भने कोइरालालाई सिटौलाको साथ रहेको छ ।
भरतपुर महानगरभित्र २९ वटा वडाहरु छन् । भरतपुर महानगरमा कांग्रेस र एमालेको तीव्र प्रतिस्पर्धा हुने देखिन्छ । स्थानीय निकाय पुनर्संरचना आयोगले साविकको भरतपुर उपमहानगरपालिकालाई महानगर बनाएको हो । भरतपुर महानगरमा करिब एक लाख ५२ हजार मतदाताहरु रहेका छन् ।
–शुकदेव चापागाईँ
भरतपुर
महानगरपालिका
मेयर
युवा नेता