राजनीति

'सरकारबाट आजै ठोस निर्णय नआए आयोगलाई अप्ठेरो'

'सरकारबाट आजै ठोस निर्णय नआए आयोगलाई अप्ठेरो'
चैत्र–२४ । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले निर्वाचनका सम्बन्धमा मधेसमा उठ्दै आएको समस्याबारे यथाशक्य छिटो ठोस निर्णयमा पुग्न सरकारलाई सुझाव दिएका छन् । निर्वाचन आयोगद्वारा  ललितपुरको गोदावारीमा आयोजित निर्वाचन व्यवस्थापन तथा सञ्चालन विषयको दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले आजै बेलुकासम्म सरकारबाट ठोस निर्णय आउन सकेन भने आफूलाई अप्ठेरो पर्ने बताए । 'धेरै मतदाता भएका मधेसका जिल्लाको मतपत्र र मतदाता परिचयपत्र छपाइ थालिहाल्नु समय भइसकेकाले त्यसअघि नै सरकारबाट ठोस निर्णय हुन आवश्यक छ,'  उनले भने,' सरकारबाट त्यो हुन नसके आयोग दृढतापूर्वक सबै क्षेत्रको मतपत्र छपाइ गरेर निर्वाचनको पूर्ण तयारीमा जुट्नेछ ।' नेपाल सरकारबाट निर्वाचनमा खटिएर जाने कर्मचारीलाई काम गर्ने अनुकूल वातावरण र सुरक्षाको पूर्ण प्रत्याभूति हुन आवश्यक रहेको बताउँदै उनले आयोगले जटिलताको बीचमा पनि जिल्लामा मतदाता शिक्षा, मतदाताका लागि आवश्यक सामग्रीको व्यवस्थापन गरेर अघि बढिरहेको जानकारी दिए । आगामी वैशाख ३१ गते एकै दिन, एकै चरण र एकै समयमा हुने निर्वाचनमा सुरक्षाकर्मीबाहेक एक लाख २६ हजार कर्मचारी खटिनेछन् । ती सबै कर्मचारीसम्म शिक्षा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको सबैभन्दा माथिल्लो तहको प्रशिक्षक प्रशिक्षणमा मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत र सहायक मतदान अधिकृतसम्मलाई प्रशिक्षण दिइनेछ । सात सय ४४ स्थानीय तहको निर्वाचनबाट मुलुकभर ३६ हजारभन्दा बढी व्यक्ति निर्वाचित हुनेछन् । निर्वाचनमा करिब २१ हजार स्वयम्सेवी मतदाता शिक्षाका लागि खटिनेछन् ।

अयोधिप्रसाद यादव आयोग निर्णय सरकार

विशेष