राजनीति

पाल्पाको मुस्लिम बस्तीमा चुनावी चहलपहल

पाल्पाको मुस्लिम बस्तीमा चुनावी चहलपहल
चैत्र–२५ । मुस्लिम समुदायमा यतिबेला स्थानीय तहको निर्वाचनको सरगर्मीले छाएको छ । दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने कसरतमा यहाँका मुस्लिम समुदायमा चुनावी माहोल तातेको छ । रामपुरस्थित इस्लामपुरको गाउँ नै चुनावमय बनेको छ । मुस्लिम समुदायका अगुवा व्यक्ति हमिद मियाँ, सम्सुदिन मियाँ, हलिमा खातुन र हजिलदिन मियाँ वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनका लागि वडा, नगरका विभिन्न पदमा नेतृत्व गर्ने पक्षका साथ प्रचारप्रसारमा जुटेका छन् । उनीहरु मुस्लिम समुदायबाट नै नगर तथा वडाको नेतृत्व पकड गर्ने दाउमा रात दिन तीव्र प्रचारप्रसारमा व्यस्त देखिन्छन् । आफ्नो समुदायबाट यसभन्दा अगाडिका निर्वाचनमा नेतृत्व तहमा कोही पनि नहुँदा समुदायभित्रका विकास निर्माणलगायतका विभिन्न समस्यामा कसैले चासो नदेखाएपछि यस पटकको निर्वाचनमा मुस्लिम समुदायकै व्यक्तिले नेतृत्व गर्ने सोचका साथ चुनावी माहोलमा उत्रेका हुन् । नेपाली काँग्रेस जिल्ला कार्य समितिका सदस्य हमिद मियाँ रामपुर नगरपालिका–४ मा वडाको नेतृत्व गर्ने गरी चुनावी प्रचारप्रसारमा व्यस्त छन् । उनी भन्छन्, “मुस्लिम समुदायका मागको सम्बोधन होला भनेर पहिलाको निर्वाचनमा धेरै आशा गरियो, काम केही भएन”– “यस पटकको निर्वाचनमा समुदायको हितका लागि आफूले नेतृत्व गर्ने सोचमा प्रचारात्मक कार्यमा जुटेको छु” उनले भने । यस समुदायका नाम चलेका नेतृत्वकर्ता जुझारु व्यक्तिले अबको निर्वाचनमा टिकट पाउनुपर्ने माग गर्दै आआफ्ना सम्बद्ध राजनीतिक दलका नेता कार्यकर्तासँग तीव्र भेटघाटमा व्यस्त बनेका छन् । मुस्लिम समुदायबाट पनि यस पटकको निर्वाचनमा नगर तथा वडाको पदमा प्रतिनिधित्व गराउने सोचमा रहेको सम्बद्ध राजनीतिक दलको भनाइ छ । मुस्लिम समुदायका सुक अलिमियाँले आफ्नो समुदायका व्यक्तिले नेतृत्व गरे मजदुरी गरेर खानेलाई केही राहत मिल्ने आशा व्यक्त गरे। “अबको नेतृत्वले मजदुरवर्गको समस्या समाधान गर्नेछ” उनले भने । यहाँ एक सय ५० घर परिवार मुस्लिम समुदायमध्ये ३० घरपरिवारको अवस्था अत्यन्तै दयनीय छ । यिनीहरुको परिवारमा साँझ बिहानको हातमुख जोर्न निकै धौधौ छ । यी समस्या सम्बन्धित निकायमा वकालत गर्ने नेतृत्वकर्ता नहुँदा पनि मुस्लिम समुदाय नै सधैँ पछाडि परिरहेको हलिमा खातुनको भनाइ छ । यही समस्याको समाधान गरेर मुस्लिम समुदायलाई अगाडि बढाउने उद्देश्यका साथ नगर वा वडाको कुनै एक पदमा प्रतिनिधित्व गर्ने तयारीमा उनी जुटेका छन् । मुस्लिम समुदायका आकांक्षी प्रतिनिधिले आफ्ना समुदायका व्यक्तिसमक्ष मस्जिद, मदरसाको भौतिक विकास, कब्रस्थानको संरक्षण, गरिब विपन्नको उत्थान गर्नेलगायतका एजेन्डालाई अगाडि सारेका छन् ।  

पाल्पा मुस्लिम बस्ती स्थानीय तहको निर्वाचन

विशेष