राजनीति

निर्वाचन तयारीबारे आयोगसँग कांग्रेस पदाधिकारीको छलफल

निर्वाचन तयारीबारे आयोगसँग कांग्रेस पदाधिकारीको छलफल
चैत - २५ । नेपाली कांग्रेसले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको तयारीबारे निर्वाचन आयोगसँग जानकारी लिएको छ ।सो पार्टीका केन्द्रीय सदस्य एवं रक्षामन्त्री बालकृष्ण खाँण र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकसहितको टोलीले शुक्रबार आयोगमा पुगेर प्रमख आयुक्त डा। अयोधिप्रसाद यादव र अरु आयुक्तसँग निर्वाचनको तयारीबारे जानकारी लिएको हो । कांग्रेसले स्थानीय तहको निर्वाचन परिचालन र समन्वयका सन्दर्भमा केन्द्रीय सदस्य बालकृष्ण खाँण र दीपक गिरी तोकेको थियो ।सो अवसरमा निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको सहभागिता, निर्वाचनमा आउनसक्ने चुनौती र ऐन–कानुनमा देखिएको कमी–कमजोरीबारे छलफल भएको रक्षामन्त्री खाँणले जानकारी दिए । छलफलमा उनीहरुबीच स्थानीय तहको निर्वाचन उम्मेदवार छनोटको विधि र प्रक्रियाका सम्बन्धमासमेत छलफल भएको बताइएको छ ।पार्टीको विधानअनुरुप केन्द्रीय पदाधिकारीलाई उक्त जिम्मेवारी प्रदान गर्न मिल्ने कि नमिल्ने भन्ने विषयमा पनि गहन छलफल भएको बुझिएको छ । आयोगले निर्वाचन तयारी राम्रो गरेको महसुस भएको बताउँदै रक्षामन्त्री खाँणले ‘केहीबाहेक अधिकांश जिल्लामा निर्वाचन कार्यालयले बोलाएको बैठकमा सबै राजनीतिक दलका प्रतिनिधि सहभागिताले पनि निर्वाचनको सुनिश्चिता प्रदान गरेको छ’–भने । केही जिल्लामा बोलाएको समयमा राजनीतिक दलका प्रतिनिधि उपस्थित नभएका कारण जटिलता र समस्या आएको कुरा सो अवसरमा आयोगका तर्फबाट उनीहरुलाई जानकारी गराइएको थियो ।निर्वाचनको लागि सरकारले आयोगलाई सबैखाले सहयोग उपलब्ध गराउँदै आएको बताउँदै रक्षामन्त्री खाँणले अहिले उठिरहेका कतिपय विषयवस्तु संविधान संशोधनमार्फत् सम्बोधन गर्नुपर्छ भन्ने सरकारको धारणा रहेको उल्लेख गरे । एक प्रश्नको जवाफमा रक्षामन्त्री खाँणले भने–‘सबैलाई समन्वय गरेर सुरक्षा प्रदान गर्ने उद्देश्यसहित नेपाली सेना सुरक्षाको बाहिरी घेरामा रहेर निर्वाचनमा खटिनेछ ।’

nirbachan

विशेष