राजनीति

उम्मेदवारको आकांक्षीमा युवा बढी

उम्मेदवारको आकांक्षीमा युवा बढी
चैत्र - २६ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै म्याग्दीमा चुनावी सरगर्मी बढेको छ । जिल्लामा क्रियाशील, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, राप्रपालगायतका राजनीतिक दलले चुनाव केन्द्रित आमसभा, कार्यकर्ता भेला, बैठक तथा सम्मेलनलाई तीव्रता दिएका छन् । सरकारले चुनाव घोषणा गरेपछि जिल्लाका नेताले कार्यकर्ता र मतदाता भेटघाटलाई बाक्लो बनाएका छन् । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीमा दलहरु स्थानीय निर्वाचनको परिणाम आ–आफ्नो पक्षमा पार्नका लागि कसरत थालेका हुन् । गाउँपालिकाको केन्द्र विवादले रघुगङ्गा गाउँपालिकाको राखु पिप्ले, भगवती र बेगखोला क्षेत्रका बासिन्दाले समस्या समाधान नभएसम्म निर्वाचन वहिस्कार अभियान चलाएपछि त्यस क्षेत्रमा निर्वाचन सम्बन्धी कुनै गतिविधि भएका छैनन् । अन्य चार गाउँपालिकासहित बेनी नगरपालिकामा दलहरुले आफ्नो चुनावी एजेन्डालाई जनतासामु पु¥याउनका लागि गाउँपालिका र वडा केन्द्रित सभा तथा कार्यकर्ता भेला लगायतका कार्यक्रमलाई जोड दिएका छन् । चुनावी कार्यक्रमसँगै जिल्लामा रहेका दलहरुले नगरपालिका र गाउँपालिकाको प्रमुख र उप–प्रमुख पदका उम्मेदवार छनोटकोगृहकार्यलाई तिव्रतासाथ अगाडि बढाएका छन् । लामो समयपछि स्थानीय निर्वाचन हुन लागेकाले पनि सबै प्रमुख दलमा नगर र गाउँपालिका प्रमुख एव्म उपप्रमुख पदमा स्वभाविक रुपमा आकांक्षी धेरै देखिकाछन् । नेकपा एमाले म्याग्दीका उपसचिव देवबहादुर घलेले नगरपालिकाको प्रमुख पदको उमेदवारमा पार्टीतर्फबाट धेरैले आकांक्षा राखेको बताए।‘‘ धेरै युवा साथीले नगरप्रमुखको दाबी गर्नुभएको छ, उहाँहरु सबैको सम्मान हुने गरी पार्टीले योग्य उम्मेदवार चयन गर्नेछ,’’– घलेले भने । नेपाली काँग्रेसमा पनि स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा युवाले नै आकांक्षा देखाएका छन् । काँग्रेसको मालिका गाउँपालिकास्तरीय कार्यकर्ता भेलाले गाउँपालिका प्रमुखमा मालिका गाउँपालिका–६ दुखुका युवा श्रीप्रसाद रोकालाई गाउँपालिका प्रमुखमा उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । “म सक्रिय रुपमा राजनीतिमा लागेको धेरै भएको छैन, युवाको भूमिकलाई सम्मान गर्दै पार्टीले मलाई महत्वपूर्ण जिम्मेवारी दिएको छ, त्यसलाई मैले कुशलतापूर्वक निर्वाह गर्नेछु,’’– गाउँपालिका प्रमुखका उम्मेवार रोकाले भने। नगरपालिका, गाउँपालिका र वडा अध्यक्ष र उपाध्यक्षदेखि अन्य पदमासमेत युवाले बढी उम्मेदवार बन्न दाबी पेस गरिरहेको नेपाली काँग्रेसका जिल्ला सभापति खमवीर गर्वुजाले बताए। ‘‘अहिले गाउँपालिकास्तरबाट उम्मेदवारको छनोट प्रक्रिया सुरु भएको छ, कतिपय ठाउँमा त त्यहाँको पार्टी कमिटीले सर्वसम्मत रुपमा गाउँपालिका प्रमुख र वडा अध्यक्ष पदका उम्मेदवारको टुङ्गो लगाइसकेका छन्, ती कमिटीबाट आएका सिफारिसको आधारमा जिल्ला कार्यसमितिले उम्मेदवारको अन्तिम टुङ्गो लगाउँछ,’’–सभापति गर्वुजाले भने। लामो समयपछि स्थानीय तहको चुनाव हुन लागेका कारण पनि युवा बढी नेतृत्वमा पुग्ने अपेक्षासहित आ–आफ्नो पार्टीबाट विभिन्न पदको उम्मेदवार बन्न इच्छुक देखिएका छन् । स्थानीय तह पुनःसंरचनाले राज्यका सेवा सुविधा गाउँ/गाउँ पुग्ने र त्यहाँको समस्या र सम्भावनाको उजागर आफैं गर्नुपर्ने ऐतिहासिक परिस्थिति भएकाले पनि बढी युवा उम्मेदवारको आकांक्षी देखिएको नेकपा माअ‍ोवादी (केन्द्र) म्याग्दीका जिल्ला संयोजक गोविन्द पौडेलले बताए। उनले आफ्नो दलमा नगरपालिका, गाउँपालिका र वडा अध्यक्ष पदमा युवा पुस्ताले नै नेतृत्व गरेकाले स्थानीय निर्वाचनमा समेत सोही अनुसार युवालाई उम्मेदवार बनाउने तयारी गरेको बताए। ‘‘ धेरै ठाउँमा युवालाई नै उम्मेदवार बनाउन सुझाव र दाबी आएको छ, ‘अग्रजको सम्मान र युवाको नेतृत्व’ हुने गरी उम्मेदवार छनोट गर्छौ, परिवर्तनका सम्बाहक युवाको नेतृत्व अहिलेको आवश्यकता पनि हो’’–संयोजक पौडेलले भने। नेकपा माओवादी केन्द्रले वडा अध्यक्षदेखि सदस्यको टुङ्गो सम्बन्धित वडाको सिफारिसमा गाउँपालिका र नगरपालिकास्तरीय पार्टी कमिटीले निर्णय गर्ने र जिल्ला कमिटीले त्यसलाई स्वीकृत गर्ने तथा गाउँपालिका र नगरपालिकाको पदाधिकारी पदको उम्मेदवारको छनोट भने सम्बन्धित कमिटीको सिफासिरमा जिल्ला कमिटीले निर्णय गर्ने र त्यसलाई प्रदेश कमिटीले स्वीकृत गर्ने कार्यविधि बनाएको छ । राज्य पुनःसंरचना पश्चात पहिलो पटक स्थानीय तहको निर्वाचन हुन लागेकाले पनि नगरपालिका र गाउँपालिकाको प्रमुख, उपप्रमुख पद हत्याउन प्रमुख दलको प्रतिष्ठाको विषय बनेको देखिन्छ । विशेषगरी सामाजिक सञ्जालबाट पनि दललाई युवाहरुले नेतृत्वको अवसरका लागि दबाब दिन थालेका छन् । विगतमा भएका चुनावी मत परिणामलाई हेर्दा म्याग्दीमा अब हुन लागेको चुनावमा एमाले, काँग्रेस र माओवादी केन्द्रका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । स्थानीय तहको निर्वाचनका लागि म्याग्दीमा १२ वटा राजनीतिक पार्टीले निर्वाचन कार्यालयमा दल दर्ता गराएका छन् । निर्वाचनको मिती नजिकिएसँगै जिल्ला निर्वाचन कार्यालय र जिल्लास्थित सुरक्षा निकायले समेत आफ्नो तयारीलाई तीव्र बनाएको जनाएका छन् ।

स्थानीय तहको निर्वाचन

विशेष