भगवान लोकका बाबालाई चिठ्ठीः पृथ्वीमा त छोरीलाई पेटमै मार्छन्, ति शिशुहरुसँग हजुरको भेट भयो ?
–सम्झना शाक्य (मां प्रेम प्रार्थना)
बाबा,
पृथ्वीलोकमा मलाई सञ्चै छ । भगवानको लोकमा हजुरलाई कस्तो छ ? सधैं सोच्थेंँ मेरा ‘बाबा भएको भए यस्तो भन्थे, उस्तो भन्थे । आज चाहिं अकस्मात महशूस गरें, ‘अरे मेरो बाबा कहाँ जानुहुनेछ र ?’ आफ्नो छोरीको लागि आफ्नो बाबा सधैं हुनेछ, शरिरमा वा शरिरभन्दा माथि । हुन पनि कस्तो अचानक हजुरको शरिर छोइयो, न केहि भन्न पाईयो, न केहि सोध्न पाईयो । हजुर हेर्दाहेर्दै तस्बिर भएपछि मलाई धेरै समयसम्म त माउ हराएको चल्ला जस्तो लाग्यो । सुरक्षाको संयन्त्र नै सदाको लागि भताभुंग भएको जस्तो ।
हुन पनि धेरै मान्छेहरुलाई मनमनमा खुशी पो लाग्दो रहेछ, धेरैले बाहिर अहो ! भनेर चूकचूक गरे पनि भित्रभित्र चाहि ठीकै प¥यो भन्दा पनि रहेछन् । एक दुई जना मान्छे बिछट्टै खुशी भएर हजुरको कुरा काटेर बसेकोसमेत मैले देखें । चित्त दुख्दो रहेछ । सबैभन्दा धेरै चित्त त त्यो दिन दुख्यो, जब एउटा मान्छेले मलाई, तँ धिराज कि छोरी होस् भनेर गाली गरेको थियो ।
सबै छोरीहरुका लागि आफ्नो बाबा धिराज नै हो, सबै बाबाहरुको लागि आफ्नी छोरी राजकुमारी नै हो । मैले त्यो मान्छेलाई त्यसरी नै जवाफ दिएँ । कति अबुझ बुढो मान्छे रैछ त्यो, ए उनले त आफ्नो छोरीलाई माया पनि गर्दो रहेनछ होला । यस्तो कुरा गर्दा हामी दुबै जनालाई रुन मन लाग्ला, भो म यस्ता रुन मन लाग्ने कुरा अब गर्दिनँ । अर्कै कुरा गर्छु ।
हजुर बितिसके पछि नेपालमा ठूलो भूईंचालो गयो नी बाबा । हजुरलाई त थाहा नै छ होला । त्यो भूईचालोमा बितेका धेरै मानिसहरुलाई त हजुरले भेट्नू पनि भयो होला है । बिचरा धेरैको बिल्लिबाठ भयो । हुन पनि नौ हजार मान्छेहरु मरेछन् नि त्यो भूईचालोमा । कठै, आखिर जीवन एकैछिनको त रहेछ है ।
अनि बाबा हजुर त भगवानको लोकमा हुनुहुन्छ । पृथ्वीका लोकका मानिसको भन्दा तिक्ष्ण दृष्य त तिम्रो पक्कै छ होला । एउटा कुराम खुसुक्क सोध्छु है । हजुरले त्यो, साना चिचिले छोरीहरुलाई पनि त्यता भेट्नूभयो ? एउटा कुरा थाहा छ हजुरलाई, यहाँ त छोरीहरुको लागि आमाहरुको गर्भमा बर्सेनि भूइँचालो जान्छ रे ।
त्यो सात पोइन्ट दुई रेक्टरको महाभूकम्प भन्दा पनि दोब्बर ठूलो । अस्ति नै एउटा यूनिसेफ भन्ने ठूलो संस्थाले हाम्रो टोलमा कार्यक्रम ल्याएको थियो । तिनीहरुले अनुसन्धान गरेर तथ्य निकालेको, हाम्रो नेपालमा त हरेक बर्ष १४ हजार छोरीहरुको गर्भमा लिंग पहिचान गरी छोरी रहेछ भनेर थाहा पाउने बित्तिकै गर्भ भित्रै मारिदिँंदा रहेछन् । त्यो संख्या भनेको गएको महाभूकम्पमा मर्नेको संख्या भन्दा लगभग दोब्बरको संख्या हो । म त सुनेर झसंग भएँ । झल्याँस्स मेरो सबै होस मेरो लिंग पहिचान गरी छोरीको हत्या गर्ने विषयमा गएर अड्कियो । अहो, म पनि छोरी पो हुँ, धन्य भगवान अहिले म जिउंँदै छु ।
बिचरा उनीहरुलाई कस्तो हुँदोे होला है ? गर्भपात गराउने डाक्टरले औजार पाठेघरमा छिराएर ढुकढुक चलिरहेको मुटु रफ्फतारले ढुकढुक हुनेगरी, अनि केही बेरमा ठप्प हुने गरी अंगअंग काटेर निकाल्दा ती चिचिले छोरीहरु कति आत्तिए होला । उनीहरुको प्राण पखेरु उड्दा तीनका आमाबाबालाई उनीहरुको आत्माले कति सरापे होलान् ।
हजुरले तिनीहरुलाई भेट्नुभयो कि नाईं ? तिनीहरुलाई भेट्दा मेरो छोरीले सम्झेको छ भनिदिनू है । पृथ्वीको नेपाल भन्ने लोकमा पुत्र मोहले बौलाएका ती सबै छोरीको भु्रण हत्याराहरुलाई बिरामी सम्झेर क्षमा गरिदिनू भनेर याचना गरेको छ भनिदिनू है । यतिखेर म हजुरलाई र आमालाई धन्यबाद दिन चाहन्छु । धन्न म आमाको पाठेघरमा हुँदा त्यस्तो भूईचालो आएनछ र म हजुरको छोरी हुने पाएँं, अनि हजुर मेरो बाबा ल भन्नू त, मैले हजुरलाई पाको कि, हजुरले मलाई पाको, हामीले दुबैले दुबैलाई पाको हगि ?
हामी बाबा छोरी त भयौं तर हजुरले मलाई न्याय भने दिनु भएन । मलाई जन्माउनु त भयो तर मलाई जन्मेपछि अपांग बनाईदिनु भयो । हजुरले मेरा दाजूभाईलाई डाक्टर, इन्जिनियर पढाएर मलाई भने किन दश कक्षा पनि राम्ररी नपढाएको ? अँ, अब उहिलेको कुरा नभन्नु नि फेरि, म अहिले जम्मा ३६ बर्षकी भएँ, के अब उहिलेको कुरा नि ?
अनि, अर्को कुरा हजुरले मलाई किन त्यो १९ बर्षमै बिहे गरि दिएको ? उन्नाईस बर्षमा बिहे भयो, २१ बर्षमा बच्चा पाएँ । छोरा पाएनन्, छोरा पाएनन् भन्थे, पाउँंदै पाएन त के गर्नु अब ? आ ! राम्रै भयो मेरो त अंश पनि छोरीले नै धान्छ, बंश पनि छोरीले नै धान्छ ।
जे होस तर अचम्म हुने रहेछ अर्काको घरमा, सधैँ हेलाको हेला । अनि मूख्य कुरा त बाबा, हजुरले सबै सम्पति आफ्ना छोराहरुलाई दिएर मलाई चाहिं खै त के दियौ त ? किन र बाबा म मान्छे हैन र ? म तिम्रो सन्तान होइन र ? जस्तो छोराको लागि जीवन धान्न श्रोत साधन चाहिन्छ, छोरीलाई पनि चाहिन्छ नि होइन र ? पढाउन पनि छोरालाई नै पढायांै, अनि सम्पति पनि छोरालाई नै दियाैं ।
यो नेपाल भन्ने देशमा पैतृक सम्पतिमा छोराको मात्र हक हुने रहेछ । ल ठीकै छ कानुनले त दिएन दिएन, हजुरले आफ्नो करुणाले दिनुपर्दैन ? हजुरलाई के थाहा बुबा, हजुर बितेपछि मलाई घरका मानिसले कति हेला गरे । मैले सासू, ससुरा,लोग्ने कसैलाई पनि चित्त बुझाउन सकिनँ । अब त ज्यानै जोगाउन मुस्किल पर्ला जस्तो लागेपछि म बच्चा लिएर घरबाट निस्किंएँ ।
निस्किएपछि मलाई बल्ल होस आयो, अहो मेरो त बास पनि रहेनछ, अनि मलाई थाहा भयो मेरो बाबाले मलाई बास दिएर जानु भएनछ भनेर । अनि मलाई तपाईंसँग चित्त दुख्यो । हजुरले मलाई कति बेसहारा बनाएर जानुभएको रहेछ त ।
लोग्नेको घरमा फलामको चिउरा चपाउन नसकेपछि, समाजमा एउटा हेलाको अवस्था हुने रहेछ । घर गरेर खान नसकेकी आईमाई भनेर । धेरै आफन्त ईष्टमित्रको ढोकामा ताल्चा लाग्दो रहेछ, अनि म जन्मेको घर, तपाईको काखमा खेलेको घर, जसलाई बिहे गरे पछि माईती भनिन्छ, त्यहाँ पनि अदृष्य ठूलो भोटेताल्चा लाग्दो रहेछ ।
सकि नसकि सानो दुईकोठा भाडा गरी बसेँं, भाडामा बस्दा पनि वरपरका मानिसहरुले रिसाउँदा , धारे हात लगाएर त्यस्ती भएर त यसले घर गरेर खान नसकेकी भन्दो रहेछ । बच्चा हेर्नु कि, कमाई गर्न जानु कि, घर धन्दा गर्नू ! राम्ररी पढेको भए, गतिलो काम पाईन्थ्यो । लरतरो काम गरेर हातमुख जोड्न पनि धौ धौ । तिम्रै छोरा डाक्टर, तिम्रै छोरा ईन्जिनियर, तिमै्र छोराको धेरै कमाई, उसैलाई घर , उसैलाई सम्पति, अनि छोरीलाई चाहिं अर्काको जिम्मा लगाएर कसरी हाम्रो सुरक्षा हुनेछ ? सोच्नु त ?
अझ साईंला भाईले त त्यो भाडामा बस्नेकोमा म टीका पनि लगाउन जान्न भनेर त्यो साल भाईटीकामा पनि आएन । मैले पनि सोचेँ, ठीकैै छ भाइ तिमीलाई जस्तो बाले हामीलाई पनि घर दिएको भए , हामी किन भाडामा बस्थ्यौं ? भनेर मनमनै चित्त बुझाएँ । दाजुभाईको पनि मुख्य गुनासो रहेछ, यल्ले घर गरेर खाईन ।
घर गरेर खाए भन्ने धेरै मान्छेहरु रामकहानी चाहि कस्तो रहेछ भने नि बाबा, सासूले बूहारीलाई नबोल्ने, बूहारीले सासूलाई नबोल्ने, सासूले बिहान भात पकाउने, बूहारीले बेलूका भात पकाउने, उसको मान्छे आउँदा उसले अमिलो मूख लाउने, उसको मान्छे आउँदा उसले अमिलो मुख लाउने, रिसको आगोमा भात पकाउने, आँशुको तिउनमा मुछेर, एक दु्ई थरी वचनको कोर्राको तरकारी हालेर, मुछेर मीठो माने झैं डमडम खाने, बाहिरबाट हेर्दा चिल्लो, तर भित्र भित्र कुहिएको फर्सी जस्तो रहेछ ।
मैले के बिराए, कलहमा बस्दिनँ, शान्तिसँंग बस्छु, आफ्नो गरि खान्छु भनेर आफ्नो बाटो लागे । लोग्नेले साथ देला कि भनेको उनले पनि दिएनन् । यस्तै रहेछ लोग्ने भन्ने जात, पे्रमको होइन, मासुको सम्बन्ध हुँदोे रहेछ जस्तो लाग्यो । जति छिटो यथार्थलाई स्वीकार्यो, त्यति सजिलो भनेर मन बुझाएँं ।
लोग्नेले साथ नदिंँदा हेला अलि दोब्बर हुँदोे रहेछ, तैपनि महिलाको पृथक अस्तित्वलाई स्वीकार्न नसक्ने समाजलाई म कसरी सम्झाउँ भनेर सबै प्रारब्ध फिलिम हेरे जस्तै हेरेर पार लगाएंँ । वास्तबमा सासूबूहारीको झगडा भनेको पनि केही होइन, असुरक्षाको कारणले हुने मनमुटाव नै रहेछ । न सासूको जाने ठाउँ छ, न बूहारीको ।
दुबैजना स्वतन्त्र भएको भए, दुबै जना स्वनिर्भर भएको भए , आखिर किन एकअर्कासँग झगडा गरेर बस्थे । अलि बुझ्नेका घरमा त राम्रै भएका उदाहरण पनि नभएका होइनन् ।
म कहिलेकहिं सोच्छु, मलाई पनि हजुरले दाजुभाइ सरह समान पैतृक सम्पति दिएको भए, कम्तिमा पनि मेरो बास हुने थियो, त्यहि एक टुक्रो सानो पाखो बारी भएपनि धितो राखिकन केही गर्छु भन्ने आश हुन्थ्यो । म जस्तै धेरै छोरीहरुको बिजोग छ बाबा । बिहेपछि घरमा मिलाप भएन, श्रीमानले प्रेम गरेन, सासूससूराले हेपे भने त घर न घाटको जिन्दगी छ ।
हजुरले त्यो मेरी साथीलाई भेट्नु भयो, उहि के त कौशीबाट हाम्फालेर मरी नि । उसको नाम म यहाँ भन्दिनँ , फेरि त्यो मसँग रिसाउछे, उसलाई म अरु चित्त दुखाउन चाहन्न । उसको पनि त्यस्तै भयो नि, घरमा खाली झगडा, बुढाले खाली शंका गर्ने अनि कुट्ने ।
माईतीमा आफ्नी आमासँग कति रुन्थी रे, आमाले चाहिं सँंधै, तेरो भाग्य नै यस्तो । मेरो पनि भाग्य राम्रो भएन, मेरो भाग्य तिमीलाई सरेछ, जसरी भएपनि घर गरेर खाउ छोरी भन्थिन् रे, उसका पाली पाँच तल्ला माथि कौशीबाट हाम्फालीछ । उनी बितेपछि उनकी आमाले मलाई पनि फोन गरेर रुदै जुलुस जानुपर्यो, तिम्रो साथीको हत्या भयो भन्दै हुनुहुथ्यो ।
हत्या हो कि आत्महत्या त्यो त भगबान जानुन, तर उसलाई जिउदैं हुँदो पनि बाच्नु न मर्नु बनाएको उसकै बाबाआमा, दाजुभाईले नै हो ती । जिउँंदै हुँदा एक छेउको पाखो बारी दिन्छु आफ्नो गरि खाउ, त्यस्तो घरमा नबस छोरी भनेनन् क्यारे । हजुरले उसलाई भेट्यो भने चाहि, मेरी छोरीचाहि जुलुसमा गईनछे भनिदिनूस है । दुःख लाग्छ बाबा, हजुरहरुलाई हाम्रो ज्यान भन्दा पनि आफ्नो धन प्यारो लाग्दो रहेछ । हजुरहरुको ईज्जत भन्ने चीज पनि कस्तो जुवा रहेछ, जहांँ छोरीहरुको जीउज्यान दाउमा पर्र्छ ।
ल बाबा, कति गनगन गर्नु ? हजुरलाई मेरो कुरा सुनेर दिक्क लाग्यो होला, यस्तो पिण्ड खाईसकेको बुबालाई पनि यसले के किचकिच गरेको होला भनेर । के गर्ने बुबा, जिउँदा बुबाहरुलाई त छोरीहरुले पैतृक सम्पतिको कुरा गरेको मन नै पर्दैन । छोरीले लोभ गरी भन्छन् । आप्mनो भएको सम्पति सबै छोरालाई दिने, अनि हामीलाई केही श्रोत साधन भएन भन्दा लोभ गरेको हुनेछ त ?
कतिले चाहि तलाई बुढाले दिईहाल्छ नि भन्छन्, हजुरलाई पनि त्यस्तो लाग्ला । तर आफै सोच्नुस् त हजुरले आफै सम्पति आफ्नो जीवन रहुञ्जेल कहिले आमाको नाममा दिनुभयो त ? हजुर बितेपछि उहाँले बल्ल आफ्नो नाममा पाउनु भयो ।
कुबेलामा पाएको त्यो सम्पति टोक्नू न बोक्नू । बुढी मान्छेलाई कम्तिमा पनि बुढेसकालमा बास त भयो नि भनेको त हो, तर दाजुभाईहरुले आँ गरेर बसेको देख्दा सारै बिरक्त लाग्छ, एकदिन मलाई दुःख पोख्दै हनुहुन्थ्यो, लालपुर्जा पनि पो हरायो रे । हजुरलाई थाहा छ बाबा, छोरीलाई सम्पति त दिएनन् , त्यति मात्र कहाँं हो र, त्यही कारणले आमाबाबाको हक पनि दिएनन् ।
बिहे पछि हामी त , आमाबाबु भईकन पनि टुहुरा जस्ता । आमाबुबाहरु पनि जति छोराबुहारीले हेला गरे पनि दांँत किटेर त्यही छोराबुहारीसँग बस्दा रहेछन्, विवाह भएका छोरीहरुले पनि आफ्ना आमाबाबालाई जस्तो दुःख, अपहेलना परेको देख्दा पनि चुक्क बोल्ने अधिकार छैन । टुलुटुलु हेरेर बस्नु पर्ने रहेछ । हजुरले मलाई पनि समान अधिकार दिएको भए, मेरो पनि आमालाई सेवागर्ने हक हुनेथ्या नि । हजुरलाई बधाइ छ, हजूर फ्याट्रटै जानुभयो, तर थला परेर बसेका आमाबाबाहरुको बिजोक देख्दा बाबाहरुले गल्ती गरे जस्तो हजुरलाई लाग्दैन ।
अन्तिममा, छोरीहरुलाई पनि समान पैतृक सम्पति दिएको भए, मैले शुरुमा सुरुमा भनेको थिए नि त्यो भ्रुण हत्याको कुरा हो, आमाहरुको पाठेघरको जग जसरी छोराका लागि बलियो छ छोरीको लागि पनि उत्तिकै बलियो हुन्थ्यो ।
छोरीहरुले छोरासरह पैतृक सम्पति पाए, उनीहरुले पनि श्रोत साधनमा समान पहुँच हुन्थ्यो । पढाई लेखाई, व्यापार व्यवसाय गर्ने हुने थिए । स्वाबलम्बी हुने थिए । न त लोग्नेको लागि बोझ नै हुने थियो । न त निरन्तर परनिर्भरता नै हुन्थ्यो । छोराप्रतिको एकोहोरो मोह छोरीको लागि पनि पे्रम र विश्वासमा परिबर्तन हुन्थ्यो ।
मानिसहरुले छानीछानी छोरीको भ्रुण त्याग गर्दैन थिए । यस्तो कुरा गर्दा, मैले दाइभाइ मारेर चेलीलाई मात्र सम्पति देउ भनेको होइन नि फेरी । फेरी अर्थको अनर्थ नलगाउनु नी। मैले त खाली छोरालाई जतिकै छोरीलाई पनि दिनुपर्र्छ भनेको हो । मैले यति करुणा र समानताको कुरामात्र गरेको हो । यसरी छोरार छोरीको बीचमा यत्रो भेदभाब गरेपछि, कसरी नेपाली समाजमा सन्तुलन हुनेछ ? आफैं सोच्नूस त । अहिले पृथ्वीलोकमा जिउँदै भएका बाबाहरुका लागि त यस्तो कुरा मन नै पर्दैन, तर त्यहाँ भगवानको लोकमा हजुर जस्तै परमधाम भएर बस्नुभएका बाबाहरुलाई यो चिठ्ठी देखाईदिनुहोला ।
मलाई विश्वास छ, लोभ, मोह, अहंकार र समाजको डरबाट पार भएर भगवानको लोकमा बस्नुभएका सबै बाबाहरुले मेरो कुरा बुझ्नु हुनेछ । अनि, तपाईंहरु फेरि यो पृथ्वीलोकमा छोरीको बाबा भएर जन्मिए पछि तपाईहरुले छोरा र छोरी दुबैलाई धनमा, शिक्षामा, स्वास्थ्यमा बराबर गर्नु हुनेछ ।
छोरीहरुले पनि नर्कको जिवन जिउन पर्ने छैन, हजुरहरुले पनि बुढेशकालमा नर्कको जिवन जिउन पर्दैन । म हजुरसँग कति पनि रिसाएको छैन । खालि मन दुखेको कुरा, जुन हजुर शरिरमै हुँदो भन्न पाइन, त्यो बहमात्र पोखेकी हुँ । हजुर फेरी बाबा भएर जन्मिदा, म फेरि हजुरकै छोरी भएर जन्मिन पाऊँ , अनि हामी जिउँदै जिउँदै यो कुरा फेरी गरौँला । अन्तमा, आई लभ यू बाबा । चूप्पा । बुढा मान्छे, तिमीलाई एकदम धेरै मिस गरेको छु ।
हजुरको फटाई छोरी ज्ञानी
samjhana shakya