राजनीति

सप्तरी घटनामा गोली हान्ने सुरक्षाकर्मीलाई कारवाही गर्न सुझाव

सप्तरी घटनामा गोली हान्ने सुरक्षाकर्मीलाई कारवाही गर्न सुझाव

चैत २८ । पाँच जनाको ज्यान जानेगरी भएको सप्तरी घटनामा गोली प्रहार गर्ने सुरक्षाकर्मी पहिचान गरी कारबाही गर्न संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिअन्तर्गत उपसमितिले सुझाव दिएको छ ।

एमालेको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत फागुन २३ मा सप्तरीको मलेठमा भएको सभामा एमाले र मधेसी मोर्चा कार्यकर्ताको झडपमा प्रहरीले चलाएको गोली लागेर ५ जनाको मृत्यु हुनुका साथै दर्जनौं नागरिक–सुरक्षाकर्मी घाइते भएका थिए ।

मानवअधिकार समितिले घटनाको चार दिनपछि मोख्तार अहमदको संयोजकत्वमा अध्ययन उपसमिति गठन गरेको थियो । उपसमितिले आइतबार सप्तरी घटनाका सम्बन्धमा समितिसमक्ष स्थलगत अध्ययन प्रतिवेदन पेस गर्दै सप्तरी घटनाका मृतकको छाती, टाउको र पेटमा गोली लागेको, अधिकांश घाइतेको पनि घुँडाभन्दा माथि गोली लागेको देखिएको बताएको छ ।

यसरी गोली प्रहार गर्नु स्थानीय प्रशासन ऐन, २०२८ विपरीत भएकाले जथाभाबी गोली प्रहार गर्ने सुरक्षाकर्मी पहिचान गरी कारबाही गर्न उपसमितिले सिफारिस गरेको हो ।

सुरक्षाकर्मीलाई हतियार प्रयोगका सम्बन्धमा चेतनामुलक अभिमुखीकरण निम्ति सरकारको ध्यानाकर्षण गराउनसमेत उपसमितिले समितिलाई सुझाव दिएको छ । संयोजक अहमदसहित उपसमितिमा श्यामसुन्दर टिवडेवाल, दुलारी हरिजन र बसुन्धरा रोकाय सदस्य थिए । कान्तिपुर

विशेष