राजनीति

राजनीतिक दल र उम्मेदवारसँग कुनै साँठगाँठ नगर्नुस् – प्रमुख निर्वाचन आयुक्त

राजनीतिक दल र उम्मेदवारसँग कुनै साँठगाँठ नगर्नुस् – प्रमुख निर्वाचन आयुक्त
चैत्र–२८ । ३१ वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि मुलुकका सात स्थानमा आजबाट एकैसाथ निर्वाचन व्यवस्थापन र सञ्चालन प्रशिक्षण तालिम शुरु भएको छ । निर्वाचन आयोगले जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तथा न्याय, सरकारी वकिल र प्रशासन सेवाका उपसचिवलाई निर्वाचन अधिकृतमा तोकेको छ । मुख्य निर्वाचन अधिकृत ७५ तथा ६६९ जना निर्वाचन अधिकृतका लागि विराटनगर, सिन्धुली, धुलिखेल, पोखरा, हेटौँडा, सुर्खेत र धनगढीमा बेग्लाबेग्लै रुपमा दुईदिने प्रशिक्षण शुरु गरिएको निर्वाचन आयोगले जनाएको छ । प्रशिक्षणपछि मुख्य निर्वाचन र निर्वाचन अधिकृतले मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी ४२ हजारलाई यस्तैखाले प्रशिक्षण तालिम प्रदान गर्नेछन् । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले उक्त प्रशिक्षण तालिम धुलिखेलमा उद्घाटन गर्दै समग्र मुलुक निर्वाचनमय बन्दै गएको बताए । निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचनको जिम्मेवारी पूरा गर्न तटस्थ रहेर काम गर्न निर्देशन दिँदै उनले भने–“कुनै पनि उम्मेदवार र राजनीतिक दलसँग अब साँठगाँठ नगर्नुहोला, निर्वाचनका लागि जारी भएको आचारसंहिताको परिधिमा कर्तव्यपालन गर्नुहोला ।” रासस

प्रमुख निर्वाचन आयुक्त स्थानीय तहको निर्वाचन

विशेष