निर्वाचनको रन्कोले किन छाेएन राजधानीलार्इ ?
चैत - २९ । सरकारले स्थानीय तहको निर्वाचन घोषणासँगै गाउँगाउँमा चहलपहल बढे पनि देशको राजधानी काठमाडौंमा भने चुनावी रन्कोले अझै छोएको छैन ।
झन्डै २० वर्षपछि हुन थालेको स्थानीय तहको निर्वाचनमा ग्रामीण क्षेत्रमा बढी चहलपहल भए पनि काठमाडौंको प्रमुख सहरी क्षेत्रमा भने आशातित रुपमा भने कम चहलपहल देखिएको छ ।
काठमाडौं बाहिरका महानगरपालिका, नगरपालिकामा प्रमुख र उपप्रमुखका साथै र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र बडा अध्यक्ष, सदस्यहरुको को बन्ने भन्ने चर्चा चले पनि काठमाडौं भने त्यस्तो चर्चा अझै भइसकेको छैन ।
एक महानगरपालिका र १० नगरपालिका भएको काठमाडौंमा भने राजनीतिक दलहरु आन्तरिक तयारीमा नै रहकाले चहलपहल कम भएको बताएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रमुख चार दल निर्वाचनका लागि आन्तरिक रुपमा व्यस्त छन् ।
काठमाडौं सबभन्दा ठूलो महानगरपालिका भएकाले प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गर्नमा दलहरुमा समस्या देखिएको छ ।
गाउँगाउँका चिया पसलमा निर्वाचनमा उठ्ने उम्मेदवारको चर्चा भए पनि काठमाडौंमा त्यति चर्चा चलेको पाइन्न । पार्टी कार्यालयमा भीडभाड हुने भए पनि बजारमा काठमाडौंका मुख्यमुख्य चोक, चियापसलमा चुनावले अझै छोएको छैन ।
नेपाली कांग्रेसका जिल्लासभापति कृष्ण (सबुज) बानियाँ निर्वाचनको आन्तरिक तयारी गर्दा चहलपहल नदेखिएको स्वीकार गर्छन् । ‘हामी निर्वाचनको आन्तरिक तयारीमा छौं । पार्टी कार्यालयमा त भीडभाड नै हुन्छ,’ उनी भन्छन्, ‘तर अझै प्रचारप्रसार सुरु नगरेकाले चहलपहल नबढेको हो ।’
उनी उम्मेदवारको टुङ्गो लागेपछि, प्रचारप्रसार गर्न थालेपछि चहलपहल बढ्ने बताउँछन् । बानियाँका अनुसार कांग्रेसले नगरपालिका र वडास्तरमा उठ्ने उम्मेदवारको सूची बनाइरहेको छ ।
करिब पाँच लाख ५९ मतदान रहेको काठमाडौं ४५ दलले निर्वाचनमा सहभागीका लागि जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गराएका छन् ।
नेकपा एमालेका काठमाडौं जिल्ला सङ्गठन प्रचार विभाग प्रमुख दीपक निरौलाले अनौपचारिक कार्यक्रममा व्यस्त हुनुपरेकाले बाहिर नदेखिएको बताए । उनले निर्वाचनबारे अझै अन्योल रहेकाले काठमाडौंमा चुनावी माहोल नभएको स्पष्ट पारे ।
‘काठमाडौंमा हामीले देखिनेखालको चुनावी अभियान सञ्चालन गरेका छैनौं,’ उनी भन्छन्, ‘उम्मेदवारको अन्तिम टुङ्गो लागेपछि चुनावी अभियान सञ्चालन गर्छौ तर अहिले नगरको प्रमुख र उपप्रमुखका साथै वडा अध्यक्ष र सदस्यको छनोट कार्य भइरहेको छ ।’
यस्तै नेकपा माओवादी केन्द्रका काठमाडौं जिल्ला अध्यक्ष हिमाल शर्मा उम्मेदवारको छनोट गर्ने कार्य भइरहेकाले प्रचार कम भएको बताउँछन् ।
‘सबै उम्मेदवारको टुङ्गो लागेपछि हामी प्रचार प्रसारमामा जान्छौं,’ उनी भन्छन्, ‘अहिले उम्मेदवार छनोट गर्न थालेकाले सर्वसाधारणकहाँ ढिलाइ भएको हो तर अहिले काठमाडौंका वडा अध्यक्ष र सदस्यहरुको टुङ्गो लगाइसकेको र प्रमुख र उपप्रमुखका लागि भने तीन÷तीन उम्मेदवारको नाम प्रदेश कमिटीमा पठाइएको छ ।’
काठमाडौंमा एक महानगरपालिकासहित १० नगरपालिका छन् ।
स्थानीय तहको निर्वाचन