भारतीय सेनाको जागिरः तलब मध्यम, विभेद छैन
चैत ३० । सेनाको जागिर धेरैका लागि प्रतिष्ठाको विषय हुने गर्छ । कमाइको दृष्टिले हेर्ने हो भने नेपाली समाजमा बेलायतको लाहुरेको शान नै बेग्लै छ । बेलायतको सेनामा नेपाली युवाको आकर्षण धेरै भए पनि संख्यात्मक हिसाबले धेरै कम युवाहरुले मात्रै प्रवेश पाउँछन् । बेलायती सेनामा अहिले करिब ४ हजार मात्रै गोर्खा छन् । बर्सेनि २ सय नेपाली युवालाई बेलायतले सेनामा लिँदै आएको छ ।
बेलायती सेनाबाट सेवानिवृत्त भएका हजारौं गोर्खाहरु नेपालमा छन् जो बेलायतबाटै पेन्सन थाप्ने गर्छन् । पेन्सनमा बेलायती सरह भएन भनेर गोरखा भूतपूर्व सैनिक संघले गरेको आन्दोलनले पनि यो विभेद पूर्णतः हटाउन भने सकेन ।
बेलायती सेनामा १७ वर्ष काम गरेर ३० वर्ष अघि नै अवकास लिएका एक पूर्वगोर्खाले भने, ‘पेन्सन दिएको त छ । तर यो पैसाले आरामको जीवन जिउन पुग्दैन । अलिकति कन्ट्रोल गरेरै खर्च गर्नु पर्छ ।’
बेलायतको लाहुरेको पेन्सन धेरै हुन्छ भन्ने आम सोचाई चिर्दै उनले भने, ‘अब नेपाली सेनासँग तुलना गर्ने हो भने त हामीले पाएको धेरै हो । तर नेपाली सेनासँग तुलना कसरी गर्न मिल्छ ? जबकी हामीले सेवा नै बेलायतको गरेको हो ।’
बेलायतले पूर्व गोर्खाहरुलाई दिने पेन्सनलाई नेपाली रुपैयाँमा रुपान्तरण गरेर धेरै दिएको दाबी गर्छ । यो दाबी पुरानै पनि हो । नेपालआजसँगको कुराकानीमा आफ्नो नाम उल्लेख गर्न नचाहने ती पूर्व गोर्खाले बेलायतले दिने जवाफ बारे स्पष्ट पार्दै भने, ‘हाम्रो देशको १ पाउन्ड तिम्रो देशमा १२० रुपैयाँ हुन्छ । तिमीहरुले पाएको पेन्सन बेलायतमा कम भएर के भो त ? तिम्रो देशमा त सुतेरै खान पुग्छ त किन झगडा गर्छौ ? ।’
बेलायतले दिने पेन्सन नेपालीहरुका लागि कम नै हुन्छ । यदि त्यो पेन्सन थापेर बेलायतमा बस्ने हो भने बाँच्न मुस्किल पर्छ । तर नेपालमा ठीकै अवस्था भएको उनले सुनाए ।
कमाई धेरै हुँदैन तर इन्डियन आर्मीमा विभेद छैन बेलायतबाहेक सिंगापुर, ब्रुनाई, हङकङमा पनि युवाहरु लाहुरे हुन जान्छन् । नजिक र केही सरल भएकोले भारतीय सेनामा पनि नेपाली युवाको आकर्षण छ । अहिले भारतले ४० हजार गोर्खालाई सेनामा राखेको बताउने गर्छ । भारतीय सेना तथा अर्धसैनिक बलबाट अवकाशप्राप्त करिब १ लाख २७ हजार नेपालीले पेन्सन बुझ्ने गरेको भारतीय दुतावास बताउँछ । १ लाख २७ हजारको लागि पेन्सनमै करिब ४० अर्ब रुपैयाँ भारतले खर्च गर्दै आएको छ ।
३२ हजार गोर्खा सैनिकको सेवासुविधाका लागि भारत सरकारले यस वर्ष करिब २० अर्ब रुपैयाँ छुट्ट्याएको छ । सेवारत भारतीय सैनिकको औसत मासिक तलब ३३ हजार भारतीय रुपैयाँ (५२ हजार ८ सय नेपाली रुपैयाँ) हुने गर्छ ।
भारतले दिने मासिक तलव वा पेन्सन मध्यम किशिमको आकर्षक छ । तर भारतले गोर्खा सैनिकहरुलाई दिने तलव, पेन्सन र अरु सुविधामा भारतीय सरह नै व्यवहार भने गरेको देखिन्छ ।
नेपालमा रहेका अवकाशप्राप्त गोर्खा सैनिक र उनीहरुको परिवारको स्वास्थ्य, शिक्षा र अन्य सेवाका लागि झन्डै ५ अर्ब रुपैयाँ छुट्ट्याउने गर्छ ।
बेलायत, भारतलगायत मुलुकले गोर्खालाई दिने पेन्सन पनि नेपालको रेमिट्यान्सको एक महत्वपूर्ण हिस्सा बनेको छ ।