देश समाज

देवघाटमा बन्ने भयाे तीन जिल्ला जोड्ने पुल

देवघाटमा बन्ने भयाे तीन जिल्ला जोड्ने पुल
चैत - ३१ । नवलपरासी, तनहुँ र चितवनको सङ्गमस्थल देवघाट धाममा त्रिकोणात्मक पुल निर्माण गरी तीनै जिल्लालाई जोडिने भएको छ । देवघाट क्षेत्र विकास समितिको गएको पुस ३० गते त्यस क्षेत्रका सांसद रामचन्द्र पौडेलको उपस्थितिमा बसेको बैठकले बेनीमा पुल निर्माण गरी तीन जिल्लालाई जोड्ने निर्णय गरेको थियो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टङ्कनाथ पौडेलका अनुसार त्यस पश्चात् प्रधानमन्त्री पुष्पकमल दाहालसहित विभिन्न मन्त्रालय र निकायमा पुल निर्माणका लागि अनुरोध गरिएको थियो । पुल निर्माणका लागि सस्पेन्सन ब्रिज डिभिजन पुलचोकको टोलीले प्रारम्भिक अनुगमन गरी काम अघि बढाएको छ । बेनीमा मुख्य पुलको पिल्लर रहनेछ भने त्यसबाट नवलपरासीतर्फ गैँडाकोटको केलाँदी, तनहुँको देवघाट र चितवनको भरतपुर महानगरपालिका जोडिने छ । प्रारम्भिक अध्ययनअनुसार बिचको पिल्लरबाट नवलपरासीतर्फ दुई सय २०, तनहुँतर्फ दुई सय २० र चितवनतर्फ तीन सय मिटर हाराहारी लामो पुल बन्ने अध्यक्ष पौडेलले बताए । पुल निर्माण गर्न झण्डै ४५ करोड खर्च हुने अनुमान गरिएको छ । बेनी सङ्गममा निर्माण गरिने पिल्लर अग्लो बनाई भ्यू टावरसमेत बनाइने छ । सो झोलुङ्गे पुलबाट सवारीसाधन चलाउन दिइने छैन । देवघाटको धार्मिक महिमालाई अरू बढाउन सहयोग पुग्ने गरी त्यो पुल निर्माण गर्न लागिएको हो । कति लम्बाइको बनाउने भन्ने बारेमा अध्ययन भइरहेको छ । सम्भाव्यता अध्ययन रिपोर्टका आधारमा डिपिआर सर्भे रिपोर्टका लागि कन्सल्ट्यान्टको सहयोग लिइनेछ । यसअघि नै नवलपरासीतर्फ केलाँदीबाट मौलाकालिका जानका लागि एक हजार दुई सय मिटर स्टेप निर्माण गरिसकिएको छ । पुल निर्माणसँगै देवघाटधाम र मौलाकालिका मन्दिर जोड्न सहज हुने र यसले धार्मिक चक्रपथ निर्माण गर्न सहयोग पुग्ने अध्यक्ष पौडेलले बताए ।

देवघाट धाम

विशेष