राजनीति

राप्रपाले बनायाे निर्वाचन परिचालन कमिटी, कमल थापा संयोजक

राप्रपाले बनायाे निर्वाचन परिचालन कमिटी, कमल थापा संयोजक
चैत्र–३१ । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको चुनावलाई दृष्टिगत गरी पार्टीका अध्यक्ष कमल थापाको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । पार्टीका पदाधिकारी, पूर्वकार्य सम्पादन समितिका नेतालगायतको सहभागितामा गठन गरिएको उक्त कमिटीले घोषणापत्र तयार गर्नेछ । सोही कमिटीले चुनावका लागि उम्मेदवार छनोटका विधि तथा प्रक्रिया निर्माण गर्ने, चुनावमा आफ्नो विजयीलाई सुनिश्चित बनाउन विभिन्न राजनीतिक दलसँग तालमेल गर्नका लागि सम्बन्धित जिल्लालाई अधिकार दिने भएको छ । घोषणापत्र सार्वजनिक गरिएपछि देशका सबै जिल्लाले पार्टीको वैचारिक तथा सैद्धान्तिकरुपमा निकट रहेका तथा अन्य सङ्गठनसँग तालमेलको आवश्यकताको अध्ययन गरी निर्णय लिनेछन् । त्यसैगरी आगामी वैशाख २ गतेदेखि देशव्यापी चुनावी सभा सञ्चालन गर्ने भएको छ । पार्टीका शीर्ष नेतृत्वको सहभागितामा १४ अञ्चलमा हुने सो कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि पार्टीका उपाध्यक्ष तथा महामन्त्रीलाई जिम्मेवारी दिइएको छ । करिब दुई दशक लामो समयपछि हुन लागेको स्थानीय निर्वाचनमा जनतालाई पार्टीका नीति तथा कार्यक्रमका बारेमा बुझाउने र पार्टीलाई विजयी बनाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको पार्टीका प्रवक्ता सुशील श्रेष्ठले जानकारी दिए । पार्टीका स्थानीय तहका सङ्गठनलाई नयाँ संरचनाअनुसार समायोजन गर्नका लागि सम्पूर्ण जिल्लामा विस्तारित बैठक पार्टीले सम्पन्न गरिसकेको छ । पार्टीका नेता राजाराम श्रेष्ठका अनुसार जनताको माझमा पार्टीका राजनीतिक गतिविधिलाई लोकप्रिय बनाउने उद्देश्यले विभन्न अभियानसमेत सञ्चालन भइरहेको छ ।

कमल थापा निर्वाचन परिचालन कमिटी राष्ट्रिय प्रजातन्त्र पार्टी संयोजक

विशेष