राजनीति

ठूला दललाई उम्मेदवार छान्नै सकस

ठूला दललाई उम्मेदवार छान्नै सकस
चैत्र–३१ । स्थानीय तह निर्वाचनका लागि चितवनका राजनीतिक दललाई उम्मेदवार छान्नै सकस परेको छ। आकाङ्क्षी धेरै भएकाले उनीहरुलाई नाम छान्न सकस देखिएको हो । जिल्लामा प्रमुख राजनीतिक दलका नेताले चैतको २५ देखि २८ गतेसम्ममा उम्मेदवार तय गरिसक्ने बताएका थिए । तर चैतको मसान्तसम्म पनि उनीहरुले कुनै पनि स्थानीय तहमा उम्मेदवार तय गर्न सकेका छैनन् । नेपाली काँग्रेस जिल्ला कोषाध्यक्ष शङ्कर कँडेलले अहिले प्रक्रिया चलिरहेको जानकारी दिए । महानगरको हकमा सर्वसम्मत हुन नसकेमा केन्द्रले तय गर्ने उनले बताए । उम्मेदवारको चाहना बुझ्ने काम भइरहेको भन्दै कँडेलले भने, “खैरहनी, कालिका र राप्ती नगरपालिकाका केही वडाको सर्वसम्मत उम्मेदवार छनोट भएका छन्, ३ गते क्षेत्रले टुङ्ग्याएर ७ गते जिल्लाले सिफारिस गर्छ ।” काँग्रेसमा प्रमुख र उपप्रमुखमा आकाङ्क्षी धेरै भएकाले समस्या परेको  छ । काँग्रेसमा यसअघि भरतपुर महानगरको प्रमुखमा मात्रै २२ जना आकांक्षीको नाम सार्वजनिक भएको थियो । नेकपा (एमाले)मा पनि त्यस्तै सकस छ । हालका अध्यक्ष तथा सांसद कृष्णभक्त पोखरेलले चैत २८ सम्ममा उम्मेदवार छनौट टुङ्ग्याउने बताए पनि आजसम्म कुनै क्षेत्रमा पनि टुङ्ग्याउन सकेको छैन । सो दलका जिल्लासचिव तेजेन्द्र खड्का गाउँ र नगरका वडाबाट सिफारिस आए पनि निर्णय हुन बाँकी रहेको तर नगर प्रमुख र उपप्रमुखमा भने वैशाख ७ गतेभित्र टुङ्ग्याउने बताउँछन् । नेकपा (माओवादी केन्द्र)मा पनि चुनावी माहोल तातेपनि उम्मेदवार छान्न आकाङ्क्षी बढेकाले सकस नै भएको छ। चैत २५ र २६ मा सक्ने सार्वजनिक गरे पनि अहिलेसम्म टुङ्गो लाग्न नसकेको छैन । जिल्ला नेता घनश्याम दाहाल ‘अविनाश’ वैशाख ३ गते वडा तहको टुङ्ग्याउने गरी काम भइरहेको बताउँछन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत आफ्नो उम्मेदवार छान्ने प्रक्रिया तीव्र पारेको छ । जिल्ला अध्यक्ष बद्री तिमिल्सिना अहिले उम्मेदवार छनोट प्रक्रिया करिब अन्तिम चरणमा पुर्याएको बताउँछन् तर वडाको समेत कुनै निर्णय उसले पनि गर्न सकेको छैन । भरतपुर महानगरको प्रमुखमा भने अहिलेसम्म आफ्नो मात्रै नाम परेको र अरू कोही आकाङ्क्षी नरहेको तिमिल्सिना बताउँछन् । जिल्लामा अहिले भरतपुर महानगरपालिकासहित रत्ननगर, खैरहनी, राप्ती, कालिका नगरपालिका छन् भने इच्छाकामना गाउँपालिका छन् । सात स्थानीय तहमा सात प्रमुख र सातजना उपप्रमुख, ९८ वडामा ९८ वडाध्यक्ष तथा सदस्य तीन सय ९२ गरी पाँच सय चार निर्वाचित हुन्छन् ।  

उम्मेदवार चितवन राजनीतिक दल स्थानीय तह निर्वाचन

विशेष