राजनीति

नवलपरासीमा निर्वाचनको चहलपहल बढ्दै

नवलपरासीमा निर्वाचनको चहलपहल बढ्दै
बैशाख - २ । आसन्न स्थानीय तह निर्वाचनका लागि नवलपरासी जिल्लामा राजनीतिक दलहरूले चुनावी गतिविधिलाई तीव्रता दिन थालेका छन् । ठूला तथा साना दलले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखलगायतका उम्मेदवार छनोटको तयारीमा जुटेका हुन् । चुनावको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले एकातिर उम्मेदवार चयन गर्ने कार्यमा जुटेका छन् भने अर्कोतिर विभिन्न कार्यक्रममार्फत पार्टीका नेता तथा त्यसका सम्भावित उम्मेदवारले मतदाता भेटघाटलाई बाक्लो बनाएका छन् । सदरमुकाम परासीको मुख्य आकर्षण केन्द्र बनेको रामग्राम नगरपालिकामा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र मधेसी मार्चाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । तर स्थानीय तहको निर्वाचनमा भाग नलिने बताउँदै आएको मोर्चाले निर्वाचनमा जान सक्ने वातावरण सृजना भए साझा उम्मेदवार उठाउने योजनामा देखिएको छ । अन्य साना दलहरुले पनि सकभर मोर्चाबन्दी अथवा मिलेर साझा उम्मेदवार उठाउने योजनामा केन्द्रीत भएका छन् । रामग्राम नगरपालिकाका लागि दलहरुले जनताको माझमा लोकप्रिय, स्वच्छ छवि र निर्वाचित भएपछि जनताको पक्षमा काम गर्नसक्ने खालका उम्मेदवार छान्ने कसरतमा जुटेका छन् । नगरपालिकाको प्रमुख पदका लागि विभिन्न दलबाट करिब एक दर्जन आकांक्षी देखिएका छन् । काँग्रेसबाट नरेन्द्रकुमार गुप्ता, विक्रम यादव , शिवशंकरप्रसाद राय र वैजनाथ जयसवाल चर्चामा छन् । यस्तै नगरप्रमुख पदमा एमालेबाट वीरेन्द्र यादव र दीपेन्द्र यादवको चर्चा छ भने माओवादी केन्द्रबाट बुद्धन अलिको चर्चा छ भने मधेसी मोर्चाको साझा उम्मेदवारको रुपमा सत्रजित यादवलाई नगर प्रमुखमा अघि सार्ने चर्चा छ । छ वटा निर्वाचन क्षेत्र रहेको नवलपरासीमा हाल सात नगरपालिका र आठ गाउँपालिका कायम गरिएको छ । स्थानीय तह निर्वाचनका लागि नवलपरासीमा ३२ राजनीतिक दल दर्ता भएका छन् ।

विशेष