मधेसमा मोर्चाले केही बिगार्न सक्दैन, चुनावबाट पछि हट्न आवश्यक छैन
–किशोरकुमार विश्वास, अध्यक्ष, बहुल राष्ट्रिय समाजवादी पार्टी यो कथित मधेसी मोर्चा वा संघीय गठबन्धन भन्ने जुन मोर्चाहरु छन् यिनीहरुको उद्देश्य, पृष्ठभूमि र वास्ताविकता फरक छ । रुपमा हेर्दा यिनीहरुले जनताको अधिकारको कुरा उठाएको जस्तो लाग्छ । सारमा हेर्दा यिनीहरुको काम नै नेपालमा राजनीति अस्थिरता मच्चाउने, संक्रमणकाल लम्ब्याउने र भारतीय संस्थापनको रुचीअनुशार चल्ने हो ।
अहिले सरकारले ३१ वैशाखका लागि निर्वाचनको घोषणा गरेको छ । मूलत मधेसी मोर्चाको अहिलेको शैली हेर्दा यिनीहरु निर्वाचनमा जान्छन भन्ने मेरो अनुमान हो । अहिले चुनाब बिथोल्ने भनेर यिनीहरुले घोषणा गरेका छन् । तर मलाइ के लाग्छ भने यो पनि यिनीहरुको चुनाव जित्ने टुल हो । आन्दोलनकै दौरान निर्वाचनमा जाँदा धेरै मत पाइने आशामा उनीहरु यसो गर्न लागेका हुन् । मधेसी मोर्चाको हर्कतले, उनीहरुको लहडले तराईमा धेरै युवाहरुको ज्यान गइसकेको छ । फेरि उनीहरु आन्दोलनमा जालान जस्तो लाग्दैन ।
जसरी महाभारतमा अभिमन्यु कौरवहरुको चक्रब्यूहमा फसेका थिए, त्यसै गरी मोर्चाले रचना गरेको चक्रव्यूहमा अहिलेसम्म मधेसी सपूतहरु परे । उनीहरुलाई फरक परेन । जनता मरेर उनीहरुलाई साथ दिए । त्यसको लाभ मोर्चाका नेताहरुले पाएका छन् । उनीहरु खुसी छन् ।
हिजो मधेसी मोर्चाका एक नेताले संविधान पुनर्लेखनको कुरा गर्थे । त्यसपछि सीमांकनको कुरा गरे । त्यसपछि राष्ट्रिय सभामा प्रतिनिधित्वको विवाद सिर्जना गरे । सबै कुरा मिलाएर विधेयक ल्याउँदा अघिल्लो साँझ हुन्छ भने भोलिपल्ट अश्वीकार गरेर चुनाव बिथोल्ने कार्यक्रम सार्वजनिक गरे । यो परिदृश्यले उनीहरु नेपालमा अस्थिरता कायम गर्नकै लागि कतैबाट परिचालित छन् भन्ने हो ।
दक्षिणसँग मधेसी मोर्चाले गरेको सम्झौता नै यो हो कि अबको केही वर्ष नेपाललाई अस्थिर राख्छौं त्यसबापत सहयोग गर्नुपर्छ भन्ने हो । भारतको सल्लाहबिना नै संविधान जारी भएपछि भारतले नेपालको संविधान असफल बनाउन खोजेको छ । त्यसमा मधेसी मोर्चाले साथ दिनु नयाँ कुरा भएन । भारतले नेपालको संबिधानलाई अहिलेसम्म स्वागत गरेको छैन । स्थानीय तहको निर्वाचन पनि सफल होस भन्ने उसले चाहेको छैन । यसमा भारतको रिजर्भेसन देखिन्छ । नेपालले आफ्नो राजनीतिक कोर्सहरु पूरा गर्दै समृद्धिको बाटोमा अघि बढेको हेर्न चाहँदैन । यसैकारण अहिलको प्रचण्ड सरकार मेड इन इन्डिया हो । मधेसी मोर्चा पनि विदेशीकै गोटी हो । अब बिदेशीले यी दुवै गोटीलाइ आपसमा भिडाउँछ । मर्ने चाहिँ निरिह नेपाली जनता हुन् ।
हालै लुम्बिनीबाट पाकिस्तानी कर्णेल बेपत्ता हुनुले पनि नेपालको सुरक्षामामिलामा भारतको प्रभाव स्पष्ट पारेको छ । राजनीति, सामाजिक, राजनीतिक क्षेत्रमा भारतको जरा पसेको छ ।
नेपालका राजनीतिक दलका सबैजसो नेतालाई भारतले खरिद गरेकै छ । अहिलेका प्रचण्ड, शेरबहादुर देउवा भारतसँग बिक्री भएका छन् । कुनै बेला केपी ओली पनि बिक्री भएकै हुन् ।
मधेसी मोर्चाले चुनाव बिथोल्छ कि बिथोल्दैन भन्ने मामिलामा के कुरा स्पष्ट पार्न चाहन्छु भने यो मोर्चाबारेको हाउगुजी मनबाट झिकेर फाले पनि हुन्छ । तराईका दुइ चार जिल्लामा त्यो पनि हुलाकी राजमार्ग दक्षिण मात्रै मोर्चाले प्रभाव पार्न सक्छ । बाँकी जिल्लामा केही फरक पर्दैन । सप्तरी, सिरहा, धनुषा र महोत्तरीको हुलाकी राजमार्ग दक्षिणका जिल्लामा मात्रै मोर्चाले प्रभाव पार्ने हो । अन्त केही फरक पर्दैन ।
अहिले निर्वाचना बिथोल्ने फूर्ति लगाउने मधेसी नेताहरुमा उपेन्द्र यादव (मोरङबाट हारेका) राजेन्द्र महतो, राजकिशोर यादव, अनिल झा, शरतसिंह भण्डारी, हृदेश त्रिपाठी, सरिता गिरी, वृशेषचन्द्रलाल, महन्थ ठाकुर यी सबै मधेसबाटै हरुवा हुन् । यी हरुवाले भनेको भरमा केही हुँदैन । यसकारण मधेसी मोर्चाको हाउगुजी बेकार हो ।
यी मध्यमा पनि उपेन्द्र यादवको जन्म सप्तरीको ढिकलीमा भएको हो । महन्थको सर्लाही, राजेन्द्र महताको भारत मोतिहारी, शरतसिंह भण्डारीको महोत्तरीको गौशालामा भएको हो । सिरहामा राजकिशोर यादव, रौतहटमा अनिल झा जन्मेका हुन् । अब यी जति पनि छन् यीनीहरुको प्रभावमा जम्मा चार पाच जिल्ला छन् । यी जिल्लामा हुने आंशिक प्रभावलाई हेरेर चुनाव सार्नुपर्छ भन्ने केही छैन ।
म अध्यक्ष भएको बहुल समाजवादी पार्टीले स्थानीय तहको निर्वाचनमा भाग लिँदैन । हामी प्रदेशको निर्वाचनमा सहभागी हुनेछौंं । हामी नेपाल भारतबीच भएको खुला सीमाको विरोधी हौं । हामी कट्टर हिन्दुवादी, राजावादी, पुनरुत्थानवादी, निरंकुशवादीको शक्ति र समूहसँग विमती राख्छौं । नेपाल बहुभाषिक, बुहजातीय, बहुसँस्कृति, बुहराष्ट्रिय मुलुक हो । यो मुलुकको एकता, अखण्डता, सार्वभौमिकतामा हामी प्रतिबद्ध छौं ।
(बहुल राष्ट्रिय समाजवादी पार्टीका अध्यक्ष किशोरकुमार विश्वाससँग भएको कुराकानीमा आधारित)