राजनीति

'स्थानीय तहको निर्वाचन माओवादी केन्द्रको उपहार'

'स्थानीय तहको निर्वाचन माओवादी केन्द्रको उपहार'
वैशाख - ५ । प्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई अधिकारसम्पन्न बनाउने गरी स्थानीय तहको व्यवस्था गरिएको र त्यो नेकपा माओवादी केन्द्रको उपहार भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने–‘कतिपयले २० वर्षपछि स्थानीय निर्वाचन हुन लागेको चर्चा गर्ने गरेका छन् । तर, यो पुरानै गाउँ पञ्चायत र गाउँ विकास समितिको निर्वाचन होइन । सिंहदरबारको अधिकार गाउँ, नगरमा फर्काउने व्यवस्थासहितको स्थानीय तहको निर्वाचन हो । त्यसकारण यो निर्वाचन विशिष्ट छ ।’ गाउँपालिका र नगरपालिकाको व्यवस्था र स्थानीय तहको निर्वाचन माओवादी केन्द्रको उपहार भएको भन्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले सिंहदरबारको अधिकार गाउँ तहमा पुगेको उपहार लिएर जनताको घरदैलोमा जान र पार्टीलाई विजयी गराउनेतर्फ लाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिए । प्रधानमन्त्रीले आफ्नो चीन भ्रमणकाक्रममा तातोपानी नाका खुलाउनेबारे चिनियाँ राष्ट्रपतिसँग गम्भीररुपमा कुराकानी भएको र चिनियाँ राष्ट्रपतिलेसमेत नाका खुलाउन व्यक्तिगतरुपमै चासो दिएको बताए । कार्यक्रममा व्यवसायी एवं समाजसेवी राजकुमार पौडेलले सिंहदरबारमा केन्द्रित अधिकार गाउँ–गाउँमा ल्याउन माओवादीले बलिदान गरेको भन्दै त्यसको रक्षाका लागि आफूहरु माओवादी केन्द्रमा समाहित भएको बताए । कार्यक्रममा सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका ६० जना नेता र कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए । कार्यक्रममा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले स्थानीय तहको निर्वाचनले जनतालाई अधिकारसम्पन्न बनाउने बताए ।

Puspakamal Dahal

विशेष